भुसकाे आगाे जस्तै हुने सम्भावना
केपी ओली नेतृत्वको सरकारलाई समर्थन जारी राख्नुपर्छ भन्ने पक्षमा रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठले बुधबार संसदीय दलका नेता गंगाराम चौधरीलाई हटाएर आफैँ भएको पत्र सभामुख देवराज घिमिरेलाई दिएकी छन्। तर, सभामुख घिमिरेले संसदीय दलको नेता चयनको विषय पार्टीको नभई संसदीय दलको भएकाले दलबाटै निर्णय गराएर ल्याउन भनेका छन्।
रेशम पक्षले पार्टी अध्यक्ष लालवीर चौधरीलाई बनाउने निर्णय गरे पनि निर्वाचन आयोगले मान्यता नदिएपछि रञ्जिता नै कायम भएकी थिइन्। पार्टी अध्यक्ष कायम भएपछि गत हप्ता नै उनले आफ्नो पार्टीको समर्थन सरकारलाई कायम रहेको पत्र संसद सचिवालयमा पठाएर सत्ता पक्षमा बस्ने व्यवस्था मिलाइदिन आग्रह गरेको प्रवक्ता एकराम गिरीले जानकारी दिए।
उता, असार २२ गते गंगाराम चौधरीले आफ्नो पार्टी प्रतिपक्ष बस्ने जानकारी संसद सचिवालयलाई गराएका थिए। उक्त पत्रपछि रञ्जितासमेत संसदको विपक्षीमा वेञ्चमा बसेकी थिइन् भन् राज्यमन्त्री अरुण चौधरी संसद र सरकारमा निष्क्रिय रहँदै आएका छन्। सरकारलाई समर्थन निरन्तर रहेको रञ्जिताको पत्रसँगै अरुण पुनः राज्यमन्त्रीमा निरन्तरता पाउने आशामा छन्।
नाउपाका चार जना सांसदमध्ये रञ्जिता र अरुण एकातिर अनि लालवीर चौधरी र गंगाराम चौधरी अर्कोतिर भएका छन्। रञ्जिताले दलको नेताबाट गंगारामलाई बखास्त गरे पनि सभामुखले संसदीय दलबाटै निर्णय गराउन भनेपछि उक्त दलभित्रको विवाद झन कठिन मोडमा पुगेको छ।
संसदीय दलबाट निर्णय गराउन बहुमत चाहिने भए पनि दुवै पक्षसँग दुई/दुई जना सांसद भएका छन्। जसका कारण रञ्जिता र गंगाराम दुवैले आफूलाई दलको नेता दाबी गर्ने अवस्था सिर्जना भएको छ
