खिमानन्द न्यौपानेको स्मृति आयोजित रक्तदान कार्यक्रम सम्पन्न

Spread the love

भरतपुर चितवन

पुर्णचन्द्र चापागाई

रक्तदानका क्षेत्रमा लामो समयदेखि सक्रिय रक्तदान अभियन्ता तथा ब्लड डोनर्स सोसाइटीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष हरिप्रसाद न्यौपानेले आफ्ना पिताको स्मृतिमा आयोजित बृहत रक्तदान कार्यक्रममा रक्तदान उत्प्रेरणा राष्ट्रिय पुरस्कार घोषणा गरेका छन् ।भरतपुरको चौविस कोठीमा आफ्ना स्वर्गीय पिता खिमानन्द न्यौपानेको प्रथम स्मृति दिवसका सन्दर्भमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै अभियन्ता न्यौपानेले एक लाखको अक्षयकोष घोषणा गरेका हुन्। प्रत्येक वर्ष त्यसको ब्याजबाट देशभरिमा रक्तदानको क्षेत्रमा कर्म गर्ने अब्बल एकजनालाई वार्षिक रुपमा पुरस्कार वितरण गरिने उनले बताए ।
आज सम्पन्न रक्तदान कार्यक्रममा प्रमुख अतिथि वागमती प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकाल विशिष्ट अतिथिको संविधानसभा सदस्य गुनाखर बसेल वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारी,डाक्टर प्रतीक न्यौपाने रहेका थिए ।प्रदेश पूर्वमन्त्री विजय सुवेदी प्रदेश पूर्व माननीय कृष्ण भुर्तेल लगायतका अतिथिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा १५२ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा बोल्दै विशिष्ट अतिथि समेत रहेका डाक्टर भोजराज अधिकारी तथा प्रतीक न्यौपानेले रक्तदानका सन्दर्भमा केही गलत धारणाहरू निर्माण भएको भन्दै ब्लड प्रेसर तथा सुगर भएकाले समेत रक्तदान गर्न मिल्ने र रक्तदानले शारीरिक स्वास्थ्यमा कुनैपनि असर नपर्ने बरु फाइदा हुने भन्दै नियमित रक्तदान गर्न सम्पूर्णलाई आग्रह गरे।

कार्यक्रमको सभाध्यक्ष ब्लड डोनर्स सोसाइटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी रहेका थिए । भने कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक समेत रहेका ब्लड डोनर्स सोसाइटी चितवनका सचिव विपिन पाठकले गरेका थिए। उपस्थित व्यक्तित्वहरूलाई स्वागत मन्तव्य सहित आफ्ना स्वर्गीय पिताको जीवनी वाचन गर्दै आफू रक्तदानको क्षेत्रमा लाग्न बुवाले नै प्रेरित गर्नुभएको र रगतको अभाव हुन नदिन आफूले यो पुरस्कार घोषणा गरेको र यो अभियान सबैको साझा अभियान भएकाले मानवताको झण्डा उठाउँदै सबैलाई आफ्नो ठाउँबाट सहयोग गर्न समेत रक्त अभियन्ता हरिप्रसाद न्यौपानेले आग्रह गरे ।