चितवन क्षेत्र नं २ मा जितनारायण श्रेष्ठको उम्मेदवारी
चैत्र २० , चितवन ।नेपाली कांग्रेसका नेता जितनारायण श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन् ।
यो क्षेत्रमा एमालेका रामप्रसाद न्यौपाने र रास्वपाका रवि लामिछानेले पनि उम्मेदवारी दर्ता गरेका छन् । श्रेष्ठको प्रस्तावक राजेश्वर खनाल र समर्थकमा रामचन्द्र अधिकारी रहेका छन् । यसअघि यो क्षेत्रमा मंसिरको निर्वाचनमा लामिछाने निर्वाचित भएका थिए ।
आफूलाई कहिलेकाहीँ गठबन्धनविरोधीको आरोप लाग्ने गरेको भन्दै श्रेष्ठले भने, ‘जितनारायण श्रेष्ठले कांग्रेस-माओवादीसहितको गठबन्धनलाई जहिल्यै पनि सहयोग गरेको छ र कहिले गठबन्धनका उम्मेदवारलाई अपमान गर्ने काम गरेको छैन ।’
मनोनयन गर्न जानुअघि भएको सभामा बोल्दै उनले आफू चितवनको जनताको सेवक बन्नको लागि चुनावी मैदानमा होमिएको बताए । आफू चितवन-२ को सबै कुना कन्दराको बाटो कस्को घरमा पुग्छ, कुन ठाउँमा के समस्या छ भन्नेबारे जानकार भएको भन्दै श्रेष्ठले चितवन क्षेत्रमा पर्ने हरेक समस्यामा आफू समाधान बनेर उभिएको जिकिर गरे ।
रविको नागरिकता प्रकरणमा विवाद भएपछि पद गएको थियो । त्यसपछि सो क्षेत्रमा वैशाख १० मा उपनिर्वाचन हुन लागेको हो ।
