दशै तिहार*( शार्दूलविक्रीडित छन्द):-

Spread the love


आयो चाड दशै तिहार घरमा बोकेर थाप्लो रिन
मान्नै पर्छ सबै धनी गरिबले खोजेर सक्दो रिन
बाटो छैन कतै खुलेर धनको एक्कासि नै आउने
गाह्रो पार्छ दशै तिहार जनको ठूलो खुसी छाउने ।

सस्तो छैन बजार भाउ चिजमा चर्को छ मूल्यै अति
पैसाले किनमेल गर्न पनि ता पाइन्न बस्तु कति
सस्तो नाम बजार हो चिज सबै आकाश मात्रै छुने
हेरेरै त भयो यहाँ गरिबले आफ्नो बाधा र मर्का धुने।

अर्धानो कपडा छ बालबचरा खोज्छन् नयाँ चाडमा
फाटेका कपडा उदाङ्ग हरले खोज्छन् नयाँ चाडमा
दानो अन्न भएन टन्न घरमा पाक्ला र खै भोजन
नेपाली जनता सधै विरहमा को सुन्छ त्यो रोदन ।

चौरासी परिकार पाक्छ घरमा ठूला हुनेकै घर
फाँडोसम्म हुँदैन खान गतिलो दु:खी कसैका घर
हत्ते पार्छ सधैँ विपन्न जनमा आएर यो पर्वले
पीडा मात्र थपेर जान्छ दिलमा बुझ्दैन खै पर्वले।

रक्सी मासु भतेर जुट्छ घरमा सम्भ्रान्त ठूला घर
छाप्रो पाल अभावले हरघडी डाम्रिन्छ भोकै तर
आयो पर्व दशै तिहार जनमा छाएन दीगो खुसी
लाखौ लाख मुहार ती सकलमा पाएँ म साह्रै दुखी।