आज छठ पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिइने
सुरेस कुमार थपलिया
काठमाडौं, २०८३ कात्तिक २९ गते।
आज आइतबार देशभरका तराई–मधेससहित विभिन्न स्थानमा छठ पर्व श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ। सूर्यदेव र छठी माताको पूजा आराधना गरी मनाइने यस पर्वमा विशेषगरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा रहेको छ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ।
छठ पर्वका अवसरमा नदी, तलाउ, पोखरी तथा जलाशयका किनारमा आकर्षक घाटहरू सजाइएका छन्। व्रतालुहरूले बाँसका टोकरीमा ठकुवा, भुसुवा, केरा, उखु, नरिवललगायतका प्रसाद राखेर सूर्यदेवलाई अर्पण गर्ने गर्छन्।
विशेषगरी महिलाहरूले परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गर्दै कठोर व्रत बस्ने परम्परा छ। यस पर्वमा जातीय तथा सामाजिक सद्भाव, पारिवारिक एकता र प्रकृतिप्रतिको सम्मानसमेत झल्किन्छ।
छठ पर्वले धार्मिक आस्था मात्र नभई सामाजिक एकता, स्वच्छता, अनुशासन र सांस्कृतिक पहिचानलाई समेत बलियो बनाउँदै आएको छ।
