मलेसियाको सहयोगले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना पुनर्निर्माणमा सघाउने
मलेसियाका विदेशमन्त्री दातो सेरी मोहम्मद हसनले नेपालका लागि कार्यवाहक राजदूत मुदिता बज्राचार्यलाई सहयोगको चेक हस्तान्तरण गरेका हुन्। उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ।भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकको राहत, पुनर्लाभ तथा पुनर्निर्माणका लागि मलेसिया सरकारले नेपाललाई १० लाख अमेरिकी डलर (करिब १५ करोड २२ लाख रुपैयाँ) आर्थिक सहयोग उपलब्ध गराएको छ।
सहयोग हस्तान्तरणका क्रममा मलेसियाका विदेशमन्त्रीले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपालीप्रति ऐक्यबद्धता जनाएका थिए। कार्यवाहक राजदूत बज्राचार्यले सहयोगका लागि मलेसिया सरकारप्रति आभार व्यक्त गरिन्।
मलेसियाको यो सहयोगले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणमा सघाउने अपेक्षा गरिएको छ।
