आज नवरात्रको चौथो दिन कुष्माण्डा भगवतीको पूजा आराधना गरिँदै
सबिना प्रजा
काठमाडौं, असोज २८। हिन्दू धर्मावलम्बीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज नवरात्रको चौथो दिन अर्थात् शुक्ल पक्षको चतुर्थी तिथि परेको छ। यस अवसरमा देशभरका दुर्गा मन्दिर तथा शक्तिपीठहरूमा श्रद्धालु भक्तजनले देवी दुर्गाको पूजा–आराधना गर्दैछन्।
धार्मिक मान्यताअनुसार नवरात्रको चौथो दिन नवदुर्गामध्येकी चौथो स्वरूप माता कुष्माण्डाको पूजा गरिन्छ। माता कुष्माण्डालाई सृष्टिको ऊर्जा र शक्ति प्रदान गर्ने देवीका रूपमा लिइन्छ। भक्तजनले सुख, शान्ति, समृद्धि तथा परिवारको कल्याणको कामना गर्दै पूजा गर्ने परम्परा छ।
नवरात्रका अवसरमा घरघरमा घटस्थापना गरी स्थापना गरिएको कलशको पूजा, दुर्गा सप्तशती पाठ तथा भजनकीर्तन गर्ने चलन रहेको छ। विभिन्न शक्तिपीठमा बिहानैदेखि दर्शन तथा पूजाआराधना गर्न भक्तजन पुग्ने गरेका छन्।
बडादसैँ धार्मिक आस्था, पारिवारिक मिलन, आपसी सद्भाव र सांस्कृतिक एकताको प्रतीकसमेत हो। नवरात्रका आगामी दिनमा फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी मनाइने भएकाले दसैँको उत्साह क्रमशः बढ्दै गएको छ।
