सोह्र श्राद्धको अन्तिम दिन आज औँसी पितृस्मरण र तर्पण गरी श्रद्धापूर्वक मनाइँदै
सुरेस कुमार थपलिया ।
हिन्दू धर्मावलम्बीहरूले दिवंगत पितृहरूको सम्झना र सम्मानमा मनाउने सोह्र श्राद्ध आज औँसी तिथिसँगै समापन हुँदैछ। आश्विन कृष्ण पक्षको प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्धको अन्तिम दिन औँसीलाई विशेष महत्त्वका साथ लिइन्छ।
यस दिन दिवंगत पितृहरूको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गर्ने धार्मिक परम्परा रहेको छ। आफ्ना दिवंगत बुबा, आमा, बाजे, बज्यै तथा अन्य पितृहरूको आत्माको शान्तिको कामना गर्दै श्रद्धालुहरूले विधिपूर्वक पितृकार्य गर्ने गर्दछन्।
हिन्दू धार्मिक मान्यताअनुसार पितृप्रति श्रद्धा, कृतज्ञता र सम्मान व्यक्त गर्ने पर्वका रूपमा सोह्र श्राद्धलाई लिइन्छ। पितृहरूको निधन भएको तिथि थाहा नभएका कतिपय परिवारले औँसीका दिन श्राद्ध गर्ने परम्परा पनि छ। यसै कारण औँसी श्राद्धलाई महत्त्वपूर्ण मानिन्छ।
यस अवधिमा परिवारजनले दिवंगत आफन्तको सम्झना गर्दै तर्पण, दान तथा अन्य धार्मिक कर्म गर्ने चलन छ। श्राद्धलाई केवल कर्मकाण्डका रूपमा मात्र नभई पुर्खाप्रतिको सम्मान, पारिवारिक संस्कार र सांस्कृतिक परम्पराको निरन्तरताका रूपमा पनि लिने गरिन्छ।
सोह्र श्राद्धको समापनसँगै हिन्दू धर्मावलम्बीहरू महान् चाड बडादसैँको तयारीमा जुट्नेछन्। पितृस्मरण र धार्मिक आस्थासँग जोडिएको सोह्र श्राद्धले नेपाली समाजमा पुर्खाप्रतिको सम्मान र पारिवारिक संस्कारलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
