देउवा समूहले चितवनमा वडा तहदेखि नै अधिवेशन गतिविधि तिब्रता
टिकाराम भन्डारि
चितवन । नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीअन्तर्गत शेरबहादुर देउवा समूहले भरतपुर महानगरपालिका–११ मा वडा तहको भेला आयोजना गरेको छ। भेलाले भास्करराज न्यौपानेको संयोजकत्वमा थप वडा समिति गठन गर्ने निर्णय गरेको जनाइएको छ।

भेलामा देउवा समूहका चितवन संयोजक मिलनबाबु श्रेष्ठ, भरतपुर महानगर संयोजक प्रमिस राई तथा क्षेत्रीय अध्यक्ष रचन कार्कीलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी नेताहरूले पार्टीको संगठनलाई वडा तहसम्म थप व्यवस्थित र सक्रिय बनाउँदै आगामी महाधिवेशनका लागि आवश्यक तयारी अघि बढाउने विषयमा धारणा राखेका थिए। वडा तहबाटै संगठन सुदृढीकरण गर्दै पार्टीका गतिविधिलाई प्रभावकारी बनाउनेमा जोड दिइएको बताइएको छ।

देउवा समूहले चितवनमा वडा तहदेखि नै अधिवेशनसम्बन्धी गतिविधि अघि बढाइरहेको छ। भरतपुर महानगर अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी प्रमिस राईलाई दिइएको विषयसमेत सार्वजनिक भएको छ।
