प्रजिअ गणेश अर्याल विकट चेपाङ बस्ती कालिटारका ८४ जनाले गाउँमै पाए नागरिकता
अमर कैनि
राप्ती, चितवन । चितवनको विकट चेपाङ बस्ती राप्ती नगरपालिका–१३ कालिटारमा जिल्ला प्रशासन कार्यालयले गाउँमै पुगेर नागरिकता वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितको टोलीले कालिटारमै पुगेर ८४ जना चेपाङ समुदायका नागरिकलाई नागरिकता प्रमाणपत्र प्रदान गरेको हो।
भौगोलिक विकटता, यातायातको असहजता, आर्थिक कठिनाइ तथा आवश्यक कागजात जुटाउन नसक्दा लामो समयदेखि नागरिकता लिनबाट वञ्चित स्थानीयले आफ्नै गाउँमा नागरिकता पाएपछि खुसी व्यक्त गरेका छन्।

नागरिकता नहुँदा सामाजिक सुरक्षा, बैंकिङ, शिक्षा, रोजगारीलगायत राज्यबाट प्राप्त हुने विभिन्न सेवा तथा सुविधामा पहुँच बनाउन कठिनाइ हुँदै आएको थियो। गाउँमै नागरिकता वितरण भएपछि स्थानीयको प्रशासनिक सेवा प्राप्त गर्ने झन्झट र खर्चसमेत कम भएको छ।
प्रमुख जिल्ला अधिकारी अर्यालसहित प्रशासन कार्यालयका कर्मचारी, सम्बन्धित निकायका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा आवश्यक प्रक्रिया पूरा गरी नागरिकता वितरण गरिएको थियो।
विकट क्षेत्रका नागरिकलाई सामान्य प्रशासनिक सेवाका लागि सदरमुकामसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले गाउँमै पुगेर सेवा प्रवाह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ‘राज्यको सेवा नागरिककै घरदैलोमा’ पुर्याउने अभियानअन्तर्गत कालिटारमा नागरिकता वितरण गरिएको हो।
वर्षौंदेखि नागरिकताको अभावमा राज्यका विभिन्न सेवा तथा सुविधाबाट प्रभावित हुँदै आएका चेपाङ समुदायका नागरिकले गाउँमै नागरिकता पाएपछि राहत महसुस गरेका छन्। नागरिकता राज्यसँग नागरिकको कानुनी सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण आधार भएकाले यसबाट उनीहरूको सरकारी सेवा, सामाजिक सुरक्षा तथा अन्य अधिकारमा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।
