प्रकाश पाठकको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीसँग निकटता

Spread the love

उच्च पदस्थलाई धम्काएको आरोपमा फिलिपिन्सबाट पक्राउ गरी ल्याइएका प्रकाश पाठकको नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीसँग निकटता देखिएको छ । बयानका क्रममा अधिकारीकै निर्देशनमा आफूले विभिन्न व्यक्तिलाई विदेशबाट धम्काएको बताएका छन् । पाठकलाई गत २८ माघमा नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा फिलिपिन्सबाट पक्राउ गरी ल्याएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका उच्चपदस्थलाई उनले विदेशबाटै इमेल पठाएर धम्की दिनुका साथै सामाजिक सञ्जालमा पनि भौतिक कारबाहीको चेतावनी दिएका थिए। आयोगले प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारीमाथिको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको वेला उनले धम्की दिएका थिए। अधिकारीले नै पाठकलाई धम्काउन उक्साएको मात्र नभई पैसा नै दिएकोसमेत प्रारम्भिक छानबिनमा खुलेको हो। ‘धम्काउन आफूलाई १० करोड दिन्छु भनेका थिए २ करोड रुपैयाँ दिइसकेकाे भनेर उनले बयान दिएका छन्,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले भने, ‘उनको बयानअनुसार थप प्रमाण संकलन गर्दै छौँ।’ पाठकको मोबाइलबाट पनि अधिकारीसँगको सम्बन्ध खोतल्ने प्रयास भइरहेको प्रहरी स्रोत बताउँछ । अधिकारी भने हाल भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। नलिन्चोक हेलिपोर्ट निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा अदालतको आदेशअनुसार उनी डिल्लीबजार कारागारमा छन्। यो प्रकरणमा पनि प्रहरीले उनीमाथि छुट्टै छानबिन गर्ने भएको छ । फिलिपिन्स बसेर धम्की दिने पाठक विगतमा विभिन्न ठगीमा मुछिएको खुलेको छ ।