समाचार

कर्मचारीको खोजी तथा उद्धारमा सरकारी निकायबाट ढिलाइ भएको भन्दै असन्तोष व्यक्त

Spread the love

सबिना प्रजा

मोरङको पथरी शनिश्चरे–७ स्थायी घर भएकी ऋचा विगत ६ महिनादेखि २१६ मेगावाटको अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको प्लानिङ सेक्सनमा इन्जिनियरका रूपमा कार्यरत थिइन्। भदौ १० गते आएको भोटेकोसी बाढीपछि उनी बेपत्ता छिन्।भोटेकोसी बाढीपछि २८ दिनदेखि बेपत्ता इन्जिनियर ऋचा निरौलाले लोकसेवा आयोगको परीक्षामा पहिलो प्रयासमै सफलता हासिल गरेकी छन्। असोज ८ गते सार्वजनिक लिखित परीक्षाको नतिजामा ऋचाको नाम क्रम संख्या १२ मा परेको हो।

दिदी रक्षा निरौलाका अनुसार ऋचाले आफू ‘फ्रेसर’ भएकाले अनुभवका लागि मात्र लोकसेवाको परीक्षा दिने बताएकी थिइन्। तर, पहिलो प्रयासमै सब–इन्जिनियर पदमा नाम निकाल्न सफल भइन्।बहिनीको सफलताप्रति खुसी व्यक्त गर्दै रक्षा लेख्छिन्, ‘तिमी हामीसँग भएको भए आज कति खुसी हुन्थ्यौ होला! आशा छ, तिमी सुरक्षित छौ र चाँडै फर्केर आउनेछौ।’ऋचाको सफलता परिवारका लागि गर्वको विषय बने पनि उनी कहाँ छिन् भन्ने अत्तोपत्तो नहुँदा परिवार शोक र पीडामा छ। बुवा लीलाप्रसाद निरौलाले बेपत्ता कर्मचारीको खोजी तथा उद्धारमा सरकारी निकायबाट ढिलाइ भएको भन्दै असन्तोष व्यक्त गरेका छन्।