१० दिनसम्मको निरन्तर प्रयासपछि शुक्रबार उद्धार टोली सुरुङभित्र प्रवेश गर्न सफल

Spread the love

टिकाराम भन्डारि

नेपाली सेना र सशस्त्र प्रहरी बलको उद्धार टोलीले शुक्रबार बिहान ५ः५५ बजे ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनलाई सुरुङबाट बाहिर निकालेको हो।उद्धार गरिएका सञ्जयको अवस्था सामान्य रहेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको १०औँ दिनमा रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार भएको छ।

कबीरको भने काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको छ। उनको स्वास्थ्यमा पनि सुधार हुँदै गएको चिकित्सकहरूले परिवारलाई जानकारी दिएका छन्।उद्धार गरिएका दुवै जनालाई हेलिकोप्टरमार्फत रसुवा हुँदै काठमाडौं ल्याइएको थियो। सप्तरीका साह आयोजनामा मेकानिकल फोरम्यान र काठमाडौंका महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।

उद्धारमा खटिएका सशस्त्र प्रहरी जवान अमर तामाङका अनुसार दुवै जनालाई शरीरको केही भाग डुबेको अवस्थामा आयोजनाको अन्तिम अर्थात् सातौँ तलामा फेला पारिएको थियो।उनका अनुसार कबीर बाढीले ल्याएको मुढाले थिचिएको अवस्थामा भेटिएका थिए भने सञ्जय सुरुङभित्रको स्ल्याबमा बसेको अवस्थामा सकुशल फेला परेका थिए।उद्धार टोलीका अनुसार सुरुङका सात तहमध्ये पाँच तला गेग्रानसहितको हिलोले पूरै डुबेको छ। सातौँ तलामाथि एकजनाको शवसमेत फेला परेको छ। शवको भने सनाखत हुन सकेको छैन।आयोजनामा कार्यरत अन्य सम्पर्कविहीन कर्मचारीको अवस्था भने अझै अज्ञात रहेको उद्धार टोलीले जनाएको छ।६० मेगावाट क्षमताको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएको थियो। १० दिनसम्मको निरन्तर प्रयासपछि शुक्रबार उद्धार टोली सुरुङभित्र प्रवेश गर्न सफल भएको हो।