घाइते तथा बेपत्ता परिवारका सदस्यलाई आवश्यक सहयोग गर्ने
काठमान्मडाै हानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विभिन्न अस्पतालमा उपचाररत बाढी प्रभावित घाइते तथा आफन्त बेपत्ता भएका परिवारका सदस्यसँग भेटघाट गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छन्।काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि सक्रिय रूपमा आवश्यक प्रक्रिया अघि बढाउने भएको छ।
डङ्गोल नेतृत्वको टोलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र राष्ट्रिय ट्रमा सेन्टर पुगेर बाढीका कारण घाइते भएकाहरूको अवस्थाबारे जानकारी लिएको थियो। टोलीले उपचारको प्रबन्ध, आवश्यक औषधि तथा अन्य अत्यावश्यक सामग्रीको उपलब्धताबारे समेत जानकारी लिएको हो।डङ्गोलले विपद् प्रभावितको उद्धार, उपचार र राहतका लागि तत्काल आवश्यक प्रक्रिया अघि बढाइने बताइन्। उनले अहिले राष्ट्रिय सङ्कटको अवस्था रहेकाले नागरिकको जीवन बचाउने, घाइतेको उद्धार तथा राहतमा सबै पक्ष सक्रिय हुनुपर्ने बताइन्।
“अहिले राष्ट्रिय सङ्कट परेको छ। यस्तो बेलामा नागरिकको जीवन बचाउने, घाइतेको उद्धार र राहतको काम भइरहेको छ। परिवार र आफन्त गुमाएका व्यक्तिलाई हामी सहयोग गर्छौँ,” उनले भनिन्।त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामीको अवस्थाबारे जानकारी लिँदै डङ्गोलले आवश्यक औषधि तथा उपकरणको उपलब्धताबारे पनि चासो राखेकी थिइन्। अस्पतालका उपनिर्देशक डा. पवनराज चालिसेले विपद्का कारण आकस्मिक स्वास्थ्य सेवामा चाप बढेकाले औषधि तथा अन्य अत्यावश्यक सामग्रीको थप व्यवस्था गर्नुपर्ने अवस्था रहेको जानकारी दिएका थिए।त्यसैगरी, राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेको अवस्थाबारे पनि डङ्गोलले जानकारी लिइन्। ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले उपचाररत बिरामीहरूको अवस्थाबारे जानकारी गराएका थिए।अस्पताल भ्रमणका क्रममा डङ्गोलले उपचाररत घाइते तथा बेपत्ता परिवारका सदस्यलाई आवश्यक सहयोग उपलब्ध गराउन काठमाडौँ महानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएकी छन्।
