तालबाट पानी बाहिरिन थालेपछि घटनास्थलमा आपतकालीन टोलीलाई चीनले एक किलोमिटर पछाडि हट्न निर्देशन
चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो जलाशययुक्त ताल फुटेको हो।नेपाल–चीन सीमाको चीनतर्फ बनेको ठूलो ताल फुटेको जानकारी आएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले नेपाली सेनामार्फत शुक्रबार ताल फुटेको जानकारी प्राप्त भएको बताएका छन्।मैले जानकारी पाउनासाथ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहित सम्बन्धित निकायमा जानकारी गराएँ र त्यहीअनुसार समन्वय भइरहेको छ,’ परियारले बताएका छन्।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले पनि चीनतर्फबाट ताल फुटेको जानकारी प्राप्त भएको पुष्टि गरेका छन्। उनका अनुसार नेपालतर्फबाट भने घटनाको यकिन हुन बाँकी रहे पनि चीनका अधिकारीहरूले म्यासेजमार्फत ताल फुटेको जानकारी दिएका थिए।चीनको जलस्रोत मन्त्रालयले बिहीबार छोचेन खोला र पुरेपू त्साङ्पो नदीको दोभाननजिक ठूलो जलाशययुक्त ‘ब्यारियर लेक’ बनेको जानकारी दिएको थियो। बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र तालबाट पानी बाहिरिन थालेको मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले जनाएको थियो।तिब्बतको हिमालय क्षेत्रबाट उत्पत्ति भएका छोचेन र पुरेपू खोला सीमापारि आपसमा मिसिन्छन्। नेपालतर्फ आएपछि यही नदी भोटेकोशीका रूपमा चिनिन्छ, जुन त्रिशूली नदीको मुख्य माथिल्लो शाखा हो।पुनः बाढी आउने जोखिम बढेपछि चीनले शुक्रबार बिहानै तिब्बतमा उद्धार अभियान स्थगित गरेको समाचारमा उल्लेख छ।
स्याटेलाइट तस्बिरहरूको विश्लेषणपछि विज्ञहरूले नेपाल–चीन सीमामा हिमचट्टान पहिरोका कारण नदी थुनिएको र त्यसपछि बाढी आएको बताएका छन्। ठूलो मात्रामा थुप्रिएको ग्रेग्रानलगायत लेदोसहितका भग्नावशेषका कारण ताल बनेको बताइएको छ।तालको निकासका लागि चीनले टोली खटाएको थियो। तर तालबाट पानी बाहिरिन थालेपछि घटनास्थलमा पुगिसकेको आपतकालीन टोलीलाई समेत चीनले करिब एक किलोमिटर पछाडि हट्न निर्देशन दिएको थियो।चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार शुक्रबारसम्म ४९९ चिनियाँ नागरिक र ५५५ विदेशी नागरिकलाई विपद् प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ।
