नेपाल विद्युत् प्राधिकरणले समयमा ध्यान नदिदा दुर्घटना भएकाे भनाई
सबिना प्रजा
जिल्ला प्रहरीका अनुसार नवराजपुर गाउँपालिका–४ सुन्दरपुरका २८ वर्षीय पशुपति शर्मा तथा लक्ष्मीपुरपतारी गाउँपालिका–५ खरुकियाहीका ५५ वर्षीय पुलकित मण्डल र ४५ वर्षीय मोहम्मद इसा अन्सारीको करेन्ट लागेर ज्या’न गएको हो।धान खेतमा सिँचाइ गर्न विद्युतीय मोटर प्रयोग गर्ने क्रममा सिराहामा आइतबार छुट्टाछुट्टै घटनामा तीन जनाको करेन्ट लागेर मृ’त्यु भएको छ।
सुन्दरपुरका शर्मा आइतबार बिहान धान खेतमा पानी तान्ने मोटर सञ्चालन गर्न गएका थिए। मोटरमा विद्युत् जोड्ने क्रममा करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नवराजपुर आधारभूत अस्पताल पुर्याइए पनि चिकित्सकले मृ’त घोषणा गरेका थिए।लक्ष्मीपुरपतारी–५ का वडाध्यक्ष ब्रह्मदेव यादवका अनुसार मण्डल धानखेतीको अवस्था हेर्न खेतमा पुगेका थिए। त्यहाँ विद्युतीय मोटरमा जडान गरिएको तारमा अल्झिएपछि उनलाई करेन्ट लागेको थियो। घटनास्थलमै उनको मृ’त्यु भएको बताइएको छ।यस्तै अन्सारी धान खेतमा पानी लगाउन पुगेका थिए। मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेपछि उनको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय महेशपुर पतारले जनाएको छ।
इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रहरी निरीक्षक विशाल मल्लका अनुसार तीनै जनाको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पठाइएको छ।किसानहरूले सिँचाइका लागि पर्याप्त वैकल्पिक व्यवस्था नभएकाले विद्युतीय मोटरमा निर्भर हुनुपरेको बताएका छन्। औरही गाउँपालिका–४ का किसान गंगाराम यादवले सिँचाइको अन्य विकल्प अभावमा मोटर प्रयोग गर्नुपर्ने बाध्यता रहेको र यसबाट दुर्घटनाको जोखिम बढेको बताए।औरही–४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादवले विद्युतीय उपकरण तथा तारमा समस्या देखिँदा नेपाल विद्युत् प्राधिकरणबाट समयमा ध्यान नदिइने गरेको गुनासो गरे। उनका अनुसार विद्युत्सम्बन्धी समस्या समाधानमा ढिलाइ हुँदा जोखिम थप बढ्ने गरेको छ।
