लाखौं रुपैयाँबराबरको पुरस्कार तनहुँका डोलराज पोखरेलको भाग्य चम्किएको चर्चा
अमेरिकामा एक व्यावसायिक स्टोरमा कार्यरत पोखरेलले कामबाट फुर्सद मिलेको समयमा कानुनी रूपमा सञ्चालन हुने लटरी कार्यक्रममार्फत टिकट खरिद गरेका थिए।तनहुँको ऋषिङ गाउँपालिका–५, राम्जाकोट स्थायी घर भई हाल अमेरिकाको न्यू ह्याम्पसायर राज्यको पश्चिमी क्षेत्रमा बसोबास गर्दै आएका डोलराज पोखरेलले २५ हजार अमेरिकी डलरको लटरी पुरस्कार जितेका छन्।
भाग्यले यसपटक उनलाई ठूलो साथ दियो र उनले २५ हजार अमेरिकी डलर अर्थात् करिब ३७ लाख ७५ हजार रुपैयाँबराबरको पुरस्कार हात पारे। पोखरेलका लागि यो पहिलो लटरी सफलता भने होइन। यसअघि पनि उनले विभिन्न अवसरमा करिब २ हजारदेखि ४ हजार अमेरिकी डलरसम्मका साना पुरस्कार जितिसकेका थिए।बारम्बार पुरस्कार जित्न थालेपछि उनका साथीभाइले उनलाई भाग्यमानी मान्दै फेरि पनि लटरीमा सहभागी हुन प्रोत्साहन दिने गरेका थिए।यसपटक भने उनको भाग्य अझै चम्कियो र २५ हजार डलरको ठूलो पुरस्कार हात पार्न सफल भए।पोखरेलको पछिल्लो लटरी जितको खबर सार्वजनिक भएपछि अमेरिका तथा नेपालमा रहेका साथीभाइ, आफन्त र शुभेच्छुकहरूले उनलाई बधाई दिइरहेका छन्।कामको फुर्सदमा खरिद गरेको एउटा टिकटले लाखौं रुपैयाँबराबरको पुरस्कार दिलाएपछि तनहुँका डोलराज पोखरेलको भाग्य चम्किएको चर्चा भइरहेको छ।
