सुरुवात सानो हुन सक्छ तर सपना ठूलो भए यात्रा धेरै टाढासम्म पुग्ने
सफलताको पछाडि संघर्ष, धैर्य र आफूले चाहेको लक्ष्यप्रतिको निरन्तर मेहनतको लामो कथा छ। शौचालय सफा गर्ने कामदेखि दुबईका चर्चित सेफसम्म, पाल्पाका श्याम घिमिरेको प्रेरणादायी यात्रा सुरू भएकाे हाे । नेपालबाट राम्रो अवसरको खोजीमा संयुक्त अरब इमिरेट्स पुगेका पाल्पाका श्याम घिमिरे अहिले दुबईको आतिथ्य क्षेत्रमा सफल सेफका रूपमा स्थापित भएका छन्। घिमिरे सन् २०२२ मा दुबई पुगेका थिए। विदेशमा राम्रो भविष्य बनाउने र परिवारलाई आर्थिक रूपमा सहयोग गर्ने उद्देश्य लिएर दुबई पुगे पनि उनको सुरुवात सहज थिएन। उनले नेपालमै शौचालय सफा गर्ने, भाँडा माझ्ने र होटलका कठिन काम गर्ने गरेका थिए। दुबई पुगेपछि पनि सुरुवाती दिनमा उनले त्यस्तै कामलाई निरन्तरता दिनुपर्यो।
तर उनले कुनै कामलाई आफ्नो हैसियतसँग जोडेनन्। बरु हरेक कामबाट केही सिक्ने प्रयास गरे।म कहाँबाट सुरु गरेको हुँ भन्ने कुराले म कहाँ पुग्न सक्छु भन्ने कुरा निर्धारण गर्न दिएनँ,” घिमिरेले गल्फ न्युज सँग भनेका छन्।घिमिरेको सेफ बन्ने सपना भने बाल्यकालदेखि नै थियो। पाल्पामा हुर्किएका उनले आफ्ना बुबालाई भान्सामा काम गरेको देख्दै आएका थिए। त्यही दृश्यले उनलाई पनि भविष्यमा पाककलाको क्षेत्रमा करियर बनाउने प्रेरणा दिएको थियो।दुबईमा भाँडा माझ्ने र सरसफाइ गर्ने काम गरिरहँदा पनि उनले भान्सामा काम गर्ने सेफहरूलाई ध्यानपूर्वक हेर्थे। उनीहरूको काम सिक्थे र आफूले अवसर पाउने दिनको प्रतीक्षा गर्थे।
समयसँगै अनुभव, तालिम र निरन्तर सिकाइले उनलाई अगाडि बढाउँदै लग्यो। दुबईको अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा विभिन्न देशका मानिससँग काम गर्ने अवसर पाएपछि उनको सीप पनि विस्तार हुँदै गयो।आज उनी दुबईस्थित नट्रि पिजाण मा प्रमुख सेफहरूमध्ये एकका रूपमा काम गरिरहेका छन्।संघर्ष बिर्सिएनन्, अरूलाई पनि सहयोग गर्न थाले आफू सफल भएपछि घिमिरेले आफ्नो संघर्षका दिनहरू बिर्सिएका छैनन्। आर्थिक समस्या झेलिरहेका परिवारको उपचार खर्चमा सहयोग गर्नुका साथै आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पढाइमा समेत सहयोग गर्दै आएका छन्।उनका लागि सफलता केवल राम्रो जागिर वा आर्थिक उपलब्धि मात्र होइन, आफूले पाएको अवसर अरूलाई पनि बाँड्नु हो।मलाई सहयोग गर्ने मानिसहरू थिए, त्यसैले आज म अरूलाई सहयोग गर्न सक्ने अवस्थामा हुँदा त्यो दयालाई अगाडि बढाउनुपर्छ,” उनी भन्छन्।
घिमिरेले विदेशमा नयाँ जीवन सुरु गर्ने नेपालीहरूलाई सुरुवाती कामलाई लिएर लाज नमान्न आग्रह गरेका छन्।उनको सन्देश स्पष्ट छ, सुरुवात कठिन हुँदैमा भविष्य पनि कठिन हुन्छ भन्ने हुँदैन।जहाँबाट सुरु गरिन्छ, त्यसमा निराश नहुनुहोस्। निरन्तर काम गर्नुहोस्, सिकिरहनुहोस् र अगाडि बढिरहनुहोस्,” घिमिरेको सुझाव छ।पाल्पाबाट बोकेको सेफ बन्ने बाल्यकालको सपना आज दुबईमा उनको पेशा बनेको छ। शौचालय सफा गर्ने र भाँडा माझ्ने कामबाट सुरु भएको उनको यात्रा अहिले सफल सेफ हुँदै अरूलाई सहयोग गर्ने प्रेरणादायी जीवनकथामा परिणत भएको छ।श्याम घिमिरेको कथा एउटा कुरा सम्झाउँछ, सुरुवात सानो हुन सक्छ, तर सपना ठूलो भए यात्रा धेरै टाढासम्म पुग्न सक्छ।
