ऐतिहासिक सिँजा पनि उच्चगतिको इन्टरनेटको पहुँचमा

Spread the love

टिकाराम भन्डारि

कनकासुन्दरी गाउँपालिकाको गुठीज्युला बजार क्षेत्रमा स्थापना गरिएको नयाँ टावरमार्फत आसपासका विभिन्न बस्तीमा ४जी सेवा विस्तार भएको नेपाल टेलिकमले जनाएको छ।नेपाली तथा खस भाषाको उद्गमस्थलका रूपमा परिचित ऐतिहासिक सिँजा उपत्यका अब उच्चगतिको मोबाइल इन्टरनेट सेवासँग जोडिएको छ। जुम्लाको हाट सिँजामा नेपाल टेलिकमले नयाँ टावर स्थापना गरी ४जी सेवा सञ्चालनमा ल्याएको हो।

नयाँ टावर सञ्चालनमा आएपछि कनकासुन्दरी गाउँपालिकाका वडा नम्बर ३, ४, ५, ६ र ८ का विभिन्न बस्तीका स्थानीय उच्चगतिको मोबाइल इन्टरनेट सेवाबाट लाभान्वित हुने भएका छन्।गौरी, ओखरवाडा, हाट सिँजा, सिम्पाती, लुड्कु, गुठीज्युला बजारलगायत क्षेत्रका स्थानीयका लागि अब सञ्चार, सूचना, अनलाइन शिक्षा तथा डिजिटल सेवामा पहुँच सहज हुने अपेक्षा गरिएको छ।

दुर्गम तथा पर्यटकीय क्षेत्रसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने क्रममा सिँजा उपत्यकामा ४जी सेवा पुर्‍याइएको हो। ऐतिहासिक, भाषिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने यस क्षेत्रमा गुणस्तरीय इन्टरनेट सेवा विस्तारले स्थानीय बासिन्दासँगै पर्यटक र सेवा प्रदायकलाई समेत सहज हुने विश्वास गरिएको छ।राष्ट्रिय प्रसारण लाइनको बिजुली सेवा टावरसम्म नपुगेका कारण यसको सञ्चालनमा केही ढिलाइ भएको थियो। हाल भने तत्कालका लागि सोलार र ब्याट्री प्रणालीमार्फत टावर सञ्चालनमा ल्याइएको नेपाल टेलिकमले जनाएको छ।सिँजा उपत्यकामा ४जी सेवा विस्तारसँगै दुर्गम बस्तीलाई डिजिटल पहुँचसँग जोड्ने अभियानमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ। अब खस सभ्यताको ऐतिहासिक थलो सिँजा पनि उच्चगतिको इन्टरनेटको पहुँचमा पुगेको छ।