विस्तृत शान्ति सम्झौताको दुई दशक पूरा सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन चितवनबाट आग्रह
चितवन। विस्तृत शान्ति सम्झौता भएको दुई दशक पूरा भएको अवसरमा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाको आयोजनामा नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शान्ति प्रक्रियाका बाँकी काम तत्काल सम्पन्न गरी द्वन्द्वपीडितलाई न्यायको अनुभूति गराउन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरिएको

विस्तृत शान्ति सम्झौताको दुई दशकः सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन पुनः आग्रह’ विषयमा आयोजित कार्यक्रममा शान्ति सम्झौतापछि प्राप्त उपलब्धि, कार्यान्वयनमा देखिएका चुनौती तथा द्वन्द्वपीडितका समस्या र न्यायका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा पूर्व केन्द्रीय उपसभापति उद्धव लोहनीले मानव अधिकार तथा शान्ति समाजको अवधारणापत्र प्रस्तुत गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्ने आवश्यकताबारे आफ्नो धारणा राख्नुभएको थियो।
त्यसैगरी भ्रष्टाचारविरुद्धको निगरानी समूह चितवनका अध्यक्ष बेलबहादुर गुरुङ, पीडित परिवारका तर्फबाट सरस्वती पौडेल, भ्रष्टाचारविरुद्धको अभियान चितवनका कोषाध्यक्ष रवि भद्र खनाल तथा बेपत्ता परिवारका तर्फबाट निशा न्यौपानेले आफ्ना विचार व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा मानव अधिकार सञ्जाल चितवनका संयोजक दीपक लामिछाने, मानव अधिकारकर्मी विनोद खण्ड तिमिल्सिना, नेकपाका प्रतिनिधि नारायण आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव तेजेन्द्र पौडेल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल तथा मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका निवर्तमान सभापति एवं सल्लाहकार पूर्णचन्द्र चापागाईंले पनि धारणा राख्नुभएको थियो।

वक्ताहरूले २०६३ मंसिर ५ गते नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार सत्य निरूपण, परिपूरण, बेपत्ता नागरिकको अवस्था सार्वजनिक तथा न्यायिक प्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रम मानव अधिकार तथा शान्ति समाज चितवन शाखाका सभापति जीवन केसीको सभापतित्वमा सम्पन्न भएको थियो।
