७० हजार भन्दा बढी युवा विदेशिनुले गम्भीर प्रश्न सरकारको असली परीक्षा
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार साउन महिनामा मात्रै ६० हजार ४७२ पुरुष र ९ हजार ९६९ महिलाले अन्तिम श्रम स्वीकृति लिएका छन्। अर्थात्, औसतमा दैनिक करिब २ हजार २७० नेपाली रोजगारीको खोजीमा देश छाड्ने प्रक्रियामा पुगेका छन्।सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने, युवालाई उत्पादन र आर्थिक गतिविधिमा जोड्ने तथा वैदेशिक रोजगारीको निर्भरता घटाउने योजना अघि बढाइरहेका बेला तथ्याङ्कले भने फरक तस्वीर देखाएको छ।चालु आर्थिक वर्षको पहिलो महिनामै ७० हजार ४४१ नेपाली रोजगारीका लागि विदेशिएका छन्।
गन्तव्य मुलुकमध्ये सबैभन्दा धेरै नेपाली संयुक्त अरब इमिरेट्समा १८ हजार ७८४ जना पुगेका छन्। त्यसपछि मलेसियामा १२ हजार ४९८, कतारमा १० हजार ३६०, साउदी अरबमा ८ हजार ६१३, कुवेतमा ४ हजार ५६७ र रोमानियामा २ हजार ९०८ जनाले श्रम स्वीकृति लिएका छन्।विदेशिनेमध्ये ४० हजार ४९६ जना दक्ष श्रमिक रहेको तथ्याङ्कले देखाएको छ। अदक्ष श्रमिक १७ हजार ९९९ र अर्धदक्ष ११ हजार ४६५ जना छन्। तर उच्च दक्ष र व्यावसायिक क्षेत्रमा विदेशिनेको संख्या भने निकै न्यून रहेको छ।स्वदेशमै रोजगारी सिर्जना गर्ने सरकारी योजना र राजनीतिक दलका ठूला प्रतिबद्धताबीच आर्थिक वर्ष सुरु भएकै महिनामा ७० हजारभन्दा बढी युवा विदेशिनुले गम्भीर प्रश्न उठाएको छ।अब सरकारको असली परीक्षा भाषण, योजना र घोषणामा होइन—कति युवाले देशमै रोजगारी पाए र विदेशिनेको लर्को कति घट्यो भन्ने तथ्याङ्कमा हुनेछ।
