नेपाली राजनीतिमा योग्यता मेरिटोक्रेसी स्थापित गर्ने सक्षम नेतृत्व उत्पादन गर्ने उद्देश्य
सबिना प्रजा
पूर्वनिर्धारित समयमै निर्वाचन भए अब करिब ९ महिनापछि स्थानीय तहको निर्वाचन हुनेछ। त्यसलाई लक्षित गर्दै रास्वपाले उम्मेदवार छनोटदेखि संगठन विस्तारसम्मका आन्तरिक गतिविधि अघि बढाइसकेको छ।रास्वपाले करिब आठ महिनाअघि नै स्थानीय तह निर्वाचन लक्षित ‘क्यान्डिडेट क्लब’ को अवधारणा सार्वजनिक गरेको थियो। यही भदौ १ गते वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले ‘क्यान्डिडेट क्लब’ शुभारम्भ गरेका हुन्।सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै चुनावी तयारी तीव्र बनाएको छ। संघीय सरकारमा बलियो उपस्थिति भए पनि प्रदेश र स्थानीय तहमा संगठनात्मक तथा राजनीतिक उपस्थिति कमजोर रहेको अवस्थामा रास्वपाले आगामी निर्वाचनमार्फत तल्लो तहसम्म आफ्नो प्रभाव विस्तार गर्ने रणनीति अघि सारेको हो।
यसअन्तर्गत स्थानीय तहको उम्मेदवार बन्न इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। प्राप्त आवेदनमध्येबाट योग्यता, क्षमता र पृष्ठभूमिका आधारमा उम्मेदवार छनोट गर्ने रास्वपाको तयारी छ।मेरिटका आधारमा उम्मेदवार छान्ने दाबीरास्वपाले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’मार्फत नेपाली राजनीतिमा योग्यता प्रणाली अर्थात् मेरिटोक्रेसी स्थापित गर्ने र सक्षम नेतृत्व उत्पादन गर्ने उद्देश्य रहेको बताएको छ।सभापति लामिछानेका अनुसार उम्मेदवार बन्न चाहने व्यक्तिको कानुनी, आर्थिक, सामाजिक तथा पारिवारिक पृष्ठभूमि परीक्षण गरेपछि मात्र योग्य व्यक्तिलाई चुनावी मैदानमा उतारिनेछ।
तर गत संसदीय निर्वाचनका बेला रास्वपाले आफ्नो घोषणापत्रमा गैरदलीय स्थानीय सरकारको अवधारणा अघि सारेको थियो। अहिले भने पार्टीकै तर्फबाट स्थानीय तहका उम्मेदवार छनोटका लागि सक्रिय हुन थालेपछि उसको तत्कालीन अवधारणा र अहिलेको चुनावी तयारीबीच तुलना हुन थालेको छ।
कांग्रेस–एमाले भने आन्तरिक विवादमैरास्वपाले स्थानीय निर्वाचनको तयारीलाई गति दिइरहँदा प्रमुख पुराना दलहरू भने आन्तरिक विवाद, नेतृत्वको प्रश्न र संगठनात्मक किचलोमै बढी केन्द्रित देखिएका छन्।प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस वैधानिकता र महाधिवेशनसम्बन्धी विवादमा अल्झिएको छ। सर्वोच्च अदालतले कांग्रेससम्बन्धी विवादमा निस्सा प्रदान गरिसकेको भए पनि पार्टीभित्रको विवाद पूर्ण रूपमा समाधान हुन सकेको छैन।
१५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि कांग्रेसभित्रको आन्तरिक गतिविधि थप बढेको छ। संस्थापन इतर पक्षले राष्ट्रिय भेला तथा समानान्तर गतिविधि अघि बढाइरहेको छ भने संस्थापन पक्षले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिकाप्रति असन्तुष्ट समूह कानुनी उपचारको खोजीमा पुगेको छ।यसले कांग्रेसका नेताहरूलाई स्थानीय निर्वाचनको तयारीभन्दा आन्तरिक शक्ति संघर्षमै बढी व्यस्त बनाएको देखिन्छ।एमालेमा नेतृत्व परिवर्तनको बहसनेकपा एमालेभित्र पनि निर्वाचनको तयारीभन्दा पार्टी पुनर्गठन र नेतृत्वको कार्यशैलीबारे बहस चर्किएको छ।
जेनजी आन्दोलन तथा पछिल्लो निर्वाचन परिणामपछि एमाले नेतृत्वप्रति पार्टीभित्रै प्रश्न उठ्न थालेका छन्। नेतृत्व परिवर्तन नगरी स्थानीय निर्वाचनमा जाँदा थप क्षति व्यहोर्नुपर्ने भन्दै पार्टीभित्र नेतृत्वको विकल्प खोज्ने अभियानसमेत सुरु भएको छ।तर अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको मागसहित अघि बढेका गतिविधिलाई आलोचना गर्दै पार्टी पुनर्जागरणमा केन्द्रित हुन निर्देशन दिँदै आएका छन्।नेकपाभित्र पनि नेतृत्व हस्तान्तरणको बहसविभिन्न कम्युनिस्ट घटकबीचको एकताबाट बनेको नेकपा पनि आन्तरिक विवादबाट मुक्त हुन सकेको छैन।नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरू एकीकृत भएर बने पनि तल्लो तहसम्म सांगठनिक एकता अझै पूर्ण हुन सकेको छैन। आगामी मंसिरमा महाधिवेशन गर्ने तयारीमा रहेको पार्टी संगठन सुदृढीकरणभन्दा प्रदेशस्तरको सत्ता समीकरणमा बढी अल्झिएको देखिन्छ।
पार्टीभित्र नेतृत्व हस्तान्तरणको विषयसमेत चर्किएको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेतृत्व छाड्नुपर्ने आवाज उठे पनि दुवै नेता त्यसका लागि तयार नरहेको बताइन्छ।पुराना दलसँग गाउँसम्म संगठन छ, रास्वपा त्यसैले पहिल्यै मैदानमा’ कांग्रेस, एमाले र नेकपाजस्ता पुराना दलको तल्लो तहसम्मै संगठन भएकाले उनीहरू अहिले नै स्थानीय निर्वाचनमा हतारिनुपर्ने अवस्थामा निर्वाचन नजिकिँदा पुराना दलले आफ्नो संगठन परिचालन गर्न सक्ने भएकाले अहिले उनीहरूको प्राथमिकता आन्तरिक व्यवस्थापन हुन सक्छ। तर रास्वपाको सांगठनिक संरचना अझै गाउँ तहसम्म पूर्ण रूपमा विस्तार भइनसकेकाले उसले मानिस आकर्षित गर्न र संगठन निर्माण गर्न पहिल्यैदेखि चुनावी गतिविधि अघि बढाएको हुन सक्ने बरालको विश्लेषण छ।
बरालका अनुसार कांग्रेसमा देउवा समूह, एमालेमा ओली तथा नेकपामा प्रचण्ड–माधव नेपाल नेतृत्वसँग जोडिएको शक्ति संघर्षका कारण आन्तरिक विवाद बढेको हो।उनले पुराना दलका नेताहरूले समयको परिवर्तन बुझ्न नसके आगामी निर्वाचनमा त्यसको असर देखिन सक्ने चेतावनीसमेत दिएका छन्।नेताहरूले समयको पदचाप बुझ्न सक्नुपर्छ, नत्र उनीहरू किनारा लाग्नेछन्,’ बरालको भनाइ छ।यसरी एकातर्फ रास्वपा स्थानीय चुनावलाई केन्द्रमा राखेर उम्मेदवार खोज्न र संगठन विस्तार गर्न मैदानमा उत्रिसकेको छ भने अर्कोतर्फ कांग्रेस, एमाले र नेकपाजस्ता प्रमुख दलहरू आन्तरिक विवाद र नेतृत्व संघर्षमा अल्झिएका छन्। आगामी स्थानीय निर्वाचनमा यही अवस्थाले मतदाताको रोजाइ र दलहरूको चुनावी परिणाममा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।
