परिवारका सदस्यको उपस्थिति बिना नै एक वृद्धको अन्त्येष्टि

Spread the love

सफल कपडा व्यापारी रहेका शिवचरण रतन गुप्ताले जीवनको अन्तिम महिना हरियाणाको सोनीपतस्थित एक वृद्धाश्रममा हेरचाह गर्दै आएका वृद्धाश्रमका कर्मचारीले नै निधनपछि अन्तिम संस्कार गरे ।भारतका विभिन्न स्थान र विदेशमा बस्ने उनका तीन छोरीमध्ये कोही पनि अन्त्येष्टिमा उपस्थित भएनन् । बरु, उनीहरूले भिडियो कलमार्फत दाहसंस्कार हेरे । भारतमा कुनै समय सफल कपडा व्यापारी रहेका शिवचरण रतन गुप्ताले जीवनको अन्तिम महिना हरियाणाको सोनीपतस्थित एक वृद्धाश्रममा बिताए । उनको हेरचाह गर्दै आएका वृद्धाश्रमका कर्मचारीले नै निधनपछि अन्तिम संस्कार गरे । पछि उनीहरूले हेरचाहकर्तासँग अन्त्येष्टिको भिडियो पठाइदिन आग्रह गरे ।परिवारका सदस्यको उपस्थितिबिना नै एक वृद्धको अन्त्येष्टि गरिएको यो घटनाले धेरै मानिसलाई भावुक बनाएको छ । यो घटनाले वृद्धवृद्धामा बढ्दो एक्लोपन र परिवर्तन हुँदै गएको पारिवारिक सम्बन्धबारे सामाजिक सञ्जालमा व्यापक बहस सुरु गराएको जनाएकाे छ ।

सफल जीवनको अन्त्य एक्लोपनमा शिवचरण सधैँ एक्लै थिएनन् । उनी कुनै समय महाराष्ट्रका प्रख्यात कपडा व्यापारी थिए । आफ्नो जीवनको अधिकांश समय उनले परिवारको पालनपोषण र छोरीहरूको भविष्य निर्माणमा बिताएका थिए ।उनले आफ्नो सम्पूर्ण बचत तीन छोरीको शिक्षामा खर्च गरेका थिए । उनीहरूलाई स्वतन्त्र करियर बनाउन सहयोग गरेका थिए ।उनकी जेठी छोरी अनिता हाल नेपालमा बस्छिन् र शिक्षिकाका रूपमा काम गर्छिन् । उनकी माइली छोरी निशा उत्तर प्रदेशको आजमगढमा सरकारी शिक्षिका छिन् । कान्छी छोरी प्रिया मुम्बईमा बस्छिन् ।

करिब १८ महिनाअघि शिवचरण र उनकी श्रीमती मीना गुप्ता सोनीपतस्थित एक वृद्धाश्रममा सरेका थिए । मीनाको निधन भएपछि शिवचरण त्यहीँ एक्लै बस्दै आएका थिए ।

छोरीहरूको फोनको पर्खाइमा हुन्थे वृद्धाश्रममा शिवचरण मोबाइल फोन सधैँ आफूसँगै राख्थे । छोरीहरूसँग सम्पर्कमा रहने उनीसित त्यो नै मुख्य माध्यम थियो । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि छोरीहरूबाट फोन आउने क्रम पनि घटेको वृद्धाश्रमका प्रबन्धक आनन्द बताउँछन् ।उनको अवस्था नाजुक भएपछि कर्मचारीले तीनै छोरीलाई सम्पर्क गरी बुवालाई भेट्न आउन आग्रह गरेका थिए । “प्रत्येकले आउन असमर्थता जनाए र फरक–फरक कारण दिए,” आनन्दले भने ।अबेर राति शिवचरणको निधन भएपछि वृद्धाश्रमले पुनः परिवारलाई सम्पर्क गर्‍यो । छोरीहरूलाई अन्त्येष्टिका निम्ति आउन समय मिलोस् भनेर कर्मचारीले उनको शव केही समय सुरक्षित राखिदिने प्रस्ताव गरे । तर, उनीहरूले उक्त प्रस्ताव अस्वीकार गरेका वृद्धाश्रमले जनाएको छ ।

वृद्धाश्रमका कर्मचारीले गरे अन्तिम संस्कार  शिवचरणको अन्तिम संस्कार गर्ने जिम्मेवारी उनको हेरचाह गर्दै आएका कर्मचारीको नै भयो । कर्मचारीले नै शिवचरणको अन्तिम संस्कार गरे ।उनकी एक छोरीले अन्त्येष्टिको खर्चका निम्ति अनलाइनमार्फत पाँच हजार १०० भारु पठाइन् । सुरुमा परिवारले अस्तु संकलन गरेर सुरक्षित राखिदिन आग्रह गरेको थियो । पछि आउन नसक्ने जानकारी गराउँदै अस्तु गंगा नदीमा विसर्जन गरिदिन परिवारले वृद्धाश्रमका कर्मचारीलाई भन्यो ।

‘दाहसंस्कारको भिडियो पठाउनू’दाहसंस्कारका क्रममा शिवचरणकी एक छोरी र हेरचाहकर्ताबीच भएको कुराकानीको भिडियो यति बेला सामाजिक सञ्जालमा ‘भाइरल’ छ । उक्त भिडियो क्लिपमा छोरीले अन्त्येष्टिको भिडियो पठाउनुअघि सबै काम सही तरिकाले सम्पन्न भयो कि भएन भनेर सोधेको सुनिन्छ ।उनले दाहसंस्कार सकिन कति समय लाग्छ भनेर पनि सोधेकी थिइन् । जवाफमा एक हेरचाहकर्ताले अझै १० देखि १५ मिनेट लाग्ने बताएका थिए ।

यो कुराकानीले सामाजिक सञ्जालमा व्यापक ध्यान खिचेको छ । धेरैले शिवचरणको अन्तिम बिदाइको परिस्थितिप्रति दुःख व्यक्त गरेका छन् ।वृद्धाश्रमका कर्मचारीका अनुसार, शिवचरणलाई चिन्ने र उनको हेरचाह गर्ने सबैका निम्ति यो घटना अत्यन्तै भावुक थियो । कर्मचारीका निम्ति शिवचरण वृद्धाश्रममा बस्ने एक वृद्ध नागरिक मात्र थिएनन्, विशेष गरी श्रीमतीको निधनपछि उनीहरूले उनको दैनिक हेरचाह गरेका थिए ।

उनको कथाले परिवारबाट टाढा बसिरहेका वृद्ध आमाबाबुको बढ्दो संख्या र बुढ्यौलीसँगै आउने भावनात्मक चुनौतीबारे फेरि बहस सुरु गराएको छ । धेरैले आधुनिक जीवनशैली, करियर र भौगोलिक दूरीले पारिवारिक सम्बन्धलाई अझ जटिल बनाउन सक्ने औँल्याएका छन् । कतिपयले भने यो घटनाले आर्थिक सुरक्षाजत्तिकै भावनात्मक सहारा पनि महत्त्वपूर्ण हुने सम्झाएको बताएका छन् ।शिवचरणका अन्तिम दिनमा उनीसँगै रहेका हेरचाहकर्ताले उनको कथाले परिवारलाई शिक्षा र व्यावसायिक सफलतालाई मात्र नभई दया, सहानुभूति र वृद्ध आमाबाबुसँगको सम्बन्धलाई पनि महत्त्व दिन प्रेरित गर्ने आशा व्यक्त गरेका छन् ।शिवचरण गुप्तालाई अन्तिम क्षणमा साथ दिने मानिस उनका नातेदार थिएनन् ।