रिपोर्टर्स क्लबलाई तत्काल सञ्चालनमा ल्याउने वातावरण बनाउन सरकारसँग आग्रह
शनिबार रिपोर्टर्स क्लब बाहिर आयोजित पत्रकार सम्मेलनमा धमलाले सम्झौताअनुसारको ३८ हजार ७२१ रुपैयाँ भाडा समाज कल्याण परिषद्लाई तिरेको एक महिना बितिसक्दा पनि क्लबको ताला नखोलिएको बताए।भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेको भन्दै क्लबका अध्यक्ष तथा सञ्चालक ऋषि धमलाले सरकारको ध्यानाकर्षण गराएका छन्।
धमलाले रिपोर्टर्स क्लबले नेपालको लोकतान्त्रिक आन्दोलन तथा गणतन्त्र स्थापनाका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे। राजाको शासनकालमा समेत क्लब बन्द नभएको उल्लेख गर्दै उनले अहिले क्लब बन्द हुनुपर्ने अवस्था आउनु दुःखद् भएको बताए।उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति आफू सकारात्मक रहेको पनि स्पष्ट पारे। काठमाडौं महानगरपालिकाको मेयर हुँदा आफूले बालेनलाई साथ दिएको र अहिले प्रधानमन्त्री बनेपछि पनि भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने अभियानमा आफ्नो समर्थन रहेको उनको भनाइ थियो।
‘बालेनजी मेयर हुँदा पनि साथ दिएँ, आज प्रधानमन्त्री हुँदा पनि भ्रष्टाचारीलाई कारबाही गर्न र सुशासन कायम गर्न मेरो पूरा साथ छ,’ धमलाले भने, ‘तर आज जनताको आवाज बुलन्द गर्ने रिपोर्टर्स क्लब नै बन्द छ।’धमलाका अनुसार रिपोर्टर्स क्लबले विभिन्न राजनीतिक आन्दोलन तथा महत्वपूर्ण घटनाक्रममा नागरिकका आवाज सम्बन्धित निकाय र आमजनतासम्म पुर्याउँदै आएको छ।जेनजी आन्दोलनका क्रममा वर्तमान गृहमन्त्री सुधन गुरुङसहितका जेनजी अभियन्ताहरूका माग, धारणा र आवाजसमेत जनतामाझ पुर्याउन क्लबले महत्वपूर्ण भूमिका खेलेको उनले स्मरण गरे।
कोरोना महामारीका क्रममा क्लब दुई महिनासम्म बन्द हुँदा सरकारले भाडा तिर्न नपर्ने बताए पनि आफूहरूले सम्झौताअनुसार भाडा तिरेको धमलाले बताए।कोरोनाको समयमा दुई महिना क्लब बन्द भयो। सरकारले भाडा तिर्नुपर्दैन भनेको थियो। तर हामीले भाडा तिर्यौँ,’ उनले भने।धमलाले रिपोर्टर्स क्लबलाई तत्काल सञ्चालनमा ल्याउने वातावरण बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन्।क्लब बन्द हुँदा पत्रकार, सञ्चारकर्मी तथा आमनागरिकका आवाज अभिव्यक्त गर्ने महत्वपूर्ण सार्वजनिक थलो प्रभावित भएको उनको भनाइ छ।
