इरानकै आग्रहमा सैन्य कारबाही रोकिएको दाबी -राष्ट्रपति डोनाल्ड ट्रम्प
अमेरिका इरानमाथि ठूलो सैन्य आक्रमण गर्ने तयारीमा पुगेको थियो। तर साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार तथा इरानकै आग्रहपछि उक्त योजना अन्तिम चरणमा स्थगित गरिएको हो।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सोमबारदेखि औपचारिक वार्ता सुरु हुने घोषणा गरेका छन्। न्युजर्सीस्थित आफ्नो गल्फ क्लबबाट वासिङ्टन फर्किने क्रममा एयरफोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले वार्ता सोमबार अपराह्नबाट सुरु हुने बताएका हुन्
“हामी पूर्ण रूपमा आक्रमणका लागि तयार थियौं। तर सहयोगी राष्ट्रहरूले पर्खन आग्रह गरे। अब वार्ताबाट समाधान खोज्ने प्रयास हुनेछ,” ट्रम्पले भने।उनले वार्ताको पहिलो चरणमा हर्मुज जलमार्ग सम्बन्धी विषयमा सहमति खोजिने र त्यसपछि इरानको आणविक कार्यक्रम बारे छलफल हुने विश्वास व्यक्त गरे। ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रम स्थायी रूपमा बन्द गर्ने दिशामा पनि सम्झौता हुन सक्ने अपेक्षा व्यक्त गरेका छन्।यसैबीच, अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आइतबार साउदी युवराज मोहम्मद बिन सलमानले ट्रम्पसँग टेलिफोन संवाद गर्दै इरानमाथिको सम्भावित सैन्य कारबाही तत्कालका लागि रोक्न आग्रह गरेका थिए।
यसअघि अमेरिकाले इरानले चेतावनीका बाबजुद आक्रामक गतिविधि बढाएको आरोप लगाउँदै ऊर्जा पूर्वाधार तथा पुलहरूलाई लक्षित गरी सैन्य आक्रमणको तयारी गरेको थियो। जवाफमा इरानले अमेरिका वा उसका सहयोगीमाथि हमला भए मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डा, ऊर्जा पूर्वाधार तथा इसराइलका रणनीतिक संरचनामा प्रतिआक्रमण गर्ने चेतावनी दिएको थियो।यद्यपि, ट्रम्पले इरानकै आग्रहमा सैन्य कारबाही रोकिएको दाबी गरे पनि तेहरानले त्यसलाई अस्वीकार गरेको छ। इरानको अर्धसरकारी समाचार एजेन्सी फार्स ले अमेरिकी दाबीलाई असत्य भन्दै आफ्नो शक्ति कमजोर देखाउन गरिएको प्रचार भएको जनाएको छ।अमेरिका र इरानबीच स्ट्रेट अफ हर्मुज मा जहाजहरूको आवागमन र इरानको आणविक कार्यक्रम सम्बन्धी विवाद लामो समयदेखि समाधान हुन सकेको छैन। अमेरिका इरानले उच्च प्रशोधित युरेनियम हस्तान्तरण गर्दै आफ्नो आणविक कार्यक्रम बन्द गर्नुपर्ने अडानमा छ भने इरानले त्यसलाई अस्वीकार गर्दै आएको छ।
