समर्थन गर्न बागमती प्रदेश सभामा रहेका दलहरुसंग आग्रह- मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ

Spread the love

आफुलाई समर्थन गर्न वा बहुमत पुर्याउन मुख्यमन्त्री बानियाँको आग्रह बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान राजनैतिक गतिरोध अन्त्यका लागि आफुलाई समर्थन गर्न वा बहुमत पुर्याउन बागमती प्रदेशसभामा रहेका दलहरुसंग आग्रह गरेका छन् ।

मुख्यमन्त्री बानियाँले आज सोमबार प्रदेश सुशासन केन्द्र जाउलाखेल, ललितपुरमा सर्वदलीय बैठकको आयोजना गर्दै सत्ता साझेदार दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अन्यौलताको अवस्था सिर्जना भएकाले आफुलाई नै समर्थन गरेर अघि बढ्न वा यथाशिघ्र बहुमत पुर्याएर नयाँ सरकार गठनका लागि आग्रह गरेका हुन् ।आफुले विगतदेखिनै नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले बहुमत पुर्याए मार्ग प्रशस्त गर्न तयार रहेको बताउँदै उनले तर हालसम्म पनि दुई दलले बहुमत पुर्याउन नसकेपछि अस्थिरता चिर्दै निकासका लागि सर्वदलीय बैठक बोलाएको बताए ।

अहिलेको अवस्थाले प्रदेश सरकारलाई अनिर्णयको बन्दी बनाएको तर्फ मुख्यमन्त्री बानियाँले चिन्ता व्यक्त गर्दै दुई दलबाट बहुमत सिद्ध गर्न नसकिरहेको अवस्थामा आफुलाई नै समर्थन गरे चाँडो भन्दा चाँडो विश्वासको मत लिएर प्रदेशमा राजनैतिक स्थिरता दिने समेत दलहरुलाई अनुरोध गरेका थिए ।उनले चालु आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट पारित भईसकेको अवस्थामा यसलाई कार्यान्वयन गरेर नागरिकको आकांक्षा पूरा गर्न आफु नेतृत्वको सरकार तत्पर रहेको बताए ।

मुख्यमन्त्री बानियाँले नेकपा एमालेलाई पनि समर्थन फिर्ताबारे पुनर्विचार गरी पुनः समर्थन दिन आग्रह गरे भने अन्य दललाई राजनैतिक अन्यौलताको अन्त्यका लागि आफुलाई सहयोग गर्न आग्रह गर्दै सरकारमा नगएपनि आफुलाई समर्थन गरेर अघि बढ्न सकिनेतर्फ समेत दलहरुको ध्यानाकर्षण गराएका थिए । बानियाँले संसदमा रहेका सबै दललाई आफुलाई समर्थनका लागि लिखित अनुरोध समेत गरेका थिए ।बैठकमा सहभागी बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बहादुर सिं लामा, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेल, राप्रपाका नेता उद्धव थापा, नेपाल मजदुर किसान पार्टीका नेता सुरेन्द्र गोसाईं, हाम्रो नेपाली पार्टीका नेता शैलेन्द्र बज्राचार्य, नेकपाका रत्न ढकाल, नेकपा एमालेका नेता मधुसुदन पौडेलले राजनैतिक अस्थिरता अन्त्यका लागि प्रयासरत रहेको बताएका थिए ।