दुई दिनमै कोशीमा नेतृत्व परिवर्तन हुने

Spread the love

सहमतिअनुसार कोशी प्रदेश एमालेको भागमा परेपछि अब मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा एमालेभित्रै रस्साकस्सी सुरु भएको छ। एक पक्षले पटक–पटक नेतृत्व बदल्दा पार्टीको छवि कमजोर हुने भन्दै कार्कीलाई नै निरन्तरता दिनुपर्ने तर्क गरिरहेको छ भने अर्को पक्षले बदलिएको राजनीतिक समीकरणअनुसार नयाँ नेतृत्व आवश्यक रहेको बताइरहेको छ।कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन हुने चर्चाले राजनीतिक माहोल तातेको छ। तर वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहज रूपमा पद नछाडेसम्म नेतृत्व फेरबदल सजिलो नहुने देखिएको छ ।

यो प्रयासको अगुवाइ एमाले कोशीका उपनेता तिलकुमार मेन्याङ्बोले गरिरहेका छन्। अध्यक्ष केपी शर्मा ओलीबाट संकेत पाएको दाबी गर्दै मेन्याङ्बो अहिले काठमाडौंमा शीर्ष नेतासँग भेटघाट र संवादमा सक्रिय छन्।उनका निकट सांसदहरू एक–दुई दिनमै कोशीमा नेतृत्व परिवर्तन हुने दाबी गरिरहेका छन्। तर एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले भने औपचारिक निर्णय भइनसकेको बताएका छन्।

पार्टीभित्रै अर्को पक्ष भने महासचिव शंकर पोखरेलको लाइनमा उभिएको देखिन्छ। उनीहरू हिक्मतलाई हटाएर नयाँ अनुहार अघि सार्दा पार्टी एकता कमजोर हुने र जनतामा नकारात्मक सन्देश जाने दाबी गरिरहेका छन्।कानुनी हिसाबले पनि मुख्यमन्त्री परिवर्तन सहज छैन। मुख्यमन्त्री कार्की संविधानको धारा १६८(५) अनुसार नियुक्त भएका हुन्। त्यसकारण उनले स्वयं राजीनामा नदिएसम्म प्रक्रिया अघि बढाउन कठिन हुने कानुनी व्याख्या गरिएको छ।