उद्धारका लागि आठवटा ठूला बस परिचालन

Spread the love

स्पेनमा अधिकांश हेलिकप्टर र विमान राजधानी म्याड्रिडको पश्चिममा पर्ने बुर्गोहोन्डो, सान मार्टिन डे भाल्डेइग्लेसियास तथा म्याड्रिड–बार्सिलोनाको बीच क्षेत्रमा पर्ने एजुल्भे आसपासको डढेलो नियन्त्रणमा केन्द्रित छन्। समन्वयकारी विमान र अन्य उद्धार टोलीहरू पनि उच्च सतर्कतामा राखिएका छन्।

तीव्र गतिमा फैलिरहेको भीषण डढेलो नियन्त्रण गर्न सरकारद्वारा ठूलो मात्रामा हवाई तथा स्थल सुरक्षा स्रोत परिचालन गरिएको छ। आगो नियन्त्रणका लागि ११ वटा अग्नि–नियन्त्रक हेलिकप्टर, १२ वटा एम्फिबियस विमान (जल र थल दुवैमा सञ्चालन हुने) तथा ८ वटा वन ब्रिगेड परिचालन गरिएको स्पेन सरकारले जनाएको छ।

म्याड्रिड नजिकै डढेलो भयावह बनेपछि सहरबाहिरका क्षेत्रका हजारौँ बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ। विस्थापितहरूको उद्धारका लागि आठवटा ठूला बस परिचालन गरिएको छ भने उनीहरूलाई मोस्टोलेसस्थित उद्धार केन्द्र र गेटफे हवाई सैन्य बेसमा स्थानान्तरण गर्ने तयारी गरिएको छ।

डढेलोको गम्भीर अवस्थालाई मध्यनजर गर्दै स्पेनले यसअघि नै राष्ट्रिय संकटकाल घोषणा गरिसकेको छ। म्याड्रिडकी क्षेत्रीय राष्ट्रपति इसाबेल डियाज अयुसोले यसलाई “यस क्षेत्रको इतिहासकै सबैभन्दा खराब डढेलो” भएको बताएकी छन्।यता, छिमेकी फ्रान्समा पनि भीषण डढेलोका कारण क्याप फेरेट प्रायद्वीपबाट करिब ४० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको वा सार्ने कार्य जारी रहेको गृहमन्त्री लरेन्ट नुनेजले जानकारी दिएका छन्। सार्वजनिक भएका दृश्यहरूमा बोर्डोको पश्चिमस्थित पर्यटकीय क्षेत्रबाट सयौँ मानिस डुङ्गामार्फत सुरक्षित स्थानतर्फ पलायन गरिरहेको देखिएको छ।