विजेता टोलीका लागि ३० वटा विशेष औँठी तयार

Spread the love

फाइनल खेल हेर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रङ्गशालामै उपस्थित हुनेछन्।विश्व फुटबल महासंघ (फिफा) ले सोमबार हुने अर्जेन्टिना र स्पेनबीचको विश्वकप फाइनल विजेतालाई ‘विश्वकप च्याम्पियन रिङ’ प्रदान गर्ने घोषणा गरेको छ।

अमेरिकी खेल संस्कृतिमा विजेता टोलीलाई औँठी प्रदान गर्ने परम्परा लामो समयदेखि प्रचलित छ, विशेषगरी नेसनल फुटबल लिग (एनएफएल) को सुपर बाउल विजेताले यस्तो सम्मान पाउने गरेका छन्। फिफाले भने विश्वकप इतिहासमै पहिलो पटक यस्तो अभ्यास अपनाएको हो।विजेता टोलीका लागि ३० वटा विशेष औँठी तयार गरिएको छ भने समर्थकका लागि १ हजार ९ सय ९६ वटा औँठी बिक्रीमा राखिनेछ। औँठीमा सानो विश्वकप ट्रफीको आकृति र भित्री भागमा विशेष नक्काशी गरिएको जनाइएको छ।

ट्रम्पले यसअघि प्रतियोगिताका १०२ खेलमध्ये कुनै पनि खेल प्रत्यक्ष हेरेका थिएनन्। अमेरिकी टोली समूह चरणबाट अघि बढ्दै अन्तिम १६ मा बेल्जियमसँग पराजित हुँदा पनि उनी उपस्थित थिएनन्।यसैबीच, क्यानडामा लागेको डढेलोका कारण न्युयोर्क क्षेत्रको वायु गुणस्तरबारे चेतावनी जारी गरिएको छ। यद्यपि मेटलाइफ स्टेडियममा हुने फाइनल खेलमा त्यसको प्रभाव नपर्ने संकेत गरिएको छ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनो र ट्रम्पबीचको सम्बन्ध यस प्रतियोगिताको एक प्रमुख विवाद बनेको थियो। अमेरिकी खेलाडी फोलारिन बालोगुनलाई देखाइएको रातो कार्डबारे पुनरावलोकन गर्न ट्रम्पले फिफा अध्यक्षलाई फोन गरेको सार्वजनिक भएपछि स्वतः लाग्ने प्रतिबन्ध हटाइएको थियो।यस निर्णयको व्यापक आलोचना भएको थियो र प्रतियोगिताको निष्पक्षतामाथि प्रश्न उठेको थियो। प्रतिबन्ध हटेपछि बालोगुनले बेल्जियमविरुद्ध खेल खेले पनि अमेरिका ४–१ ले पराजित भएको थियो।