रंगशाला तोकिएको समयभित्र सम्पन्न हुने सम्भावना कमजोर
निर्माण सम्झौताको अवधि सकिन करिब ६ महिना बाँकी रहँदा हालसम्म करिब ४८ देखि ५० प्रतिशत मात्रै निर्माण सम्पन्न भएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तोकिएको समयभित्र सम्पन्न हुने सम्भावना कमजोर देखिएको छ। भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१ असारमा हिमालयन कालिन्चोक बीबीआर जेभीसँग ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँ लागतमा ३० महिनाभित्र रंगशाला निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो। सम्झौताअनुसार रंगशाला २०८३ पुस २२ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ।
चितवनको भरतपुर महानगरपालिका–१५, रामपुरमा निर्माणाधीन रंगशालाको एक दर्शक टावर पूर्ण रूपमा निर्माण सम्पन्न भएको छ भने अर्को टावरको दोस्रो तलाको स्ल्याब निर्माण सकिएको छ। चारवटा प्यारापिटमध्ये एउटा पूर्ण रूपमा तयार भएको, दुईवटाको स्ल्याब निर्माण सम्पन्न भएको र अर्को प्यारापिट निर्माणाधीन रहेको जनाइएको छ।मैदान निर्माणको काम पनि सुरु भइसकेको छ। रंगशालाभित्र पाँचवटा क्रिकेट पिच निर्माणको तयारी भइरहेको छ। साथै पहुँचमार्ग, भूमिगत विद्युत् लाइन, खानेपानी तथा ढल प्रणाली (प्लम्बिङ) लगायतका पूर्वाधार निर्माण कार्य पनि अघि बढिरहेको छ।
भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि रंगशाला निर्माणमा १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। महानगरले बाँकी निर्माण कार्यका लागि संघीय सरकार र बागमती प्रदेश सरकारसँग सहकार्यलाई निरन्तरता दिने जनाएको छ।यद्यपि, चालु आर्थिक वर्षमा संघीय सरकारले यस आयोजनाका लागि कुनै बजेट विनियोजन नगरेकाले निर्माण कार्यको गति र समयमै सम्पन्न हुने लक्ष्यमा चुनौती थपिएको देखिएको छ।
