भ्रामक र निन्दनीय सामग्री प्रकाशित गरी संस्थाप्रति भ्रम फैलाएको आरोप
नेपाल मेडिकल काउन्सिलले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता । काउन्सिलले निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेको चरित्रहत्या गरेको तथा सामाजिक सञ्जालमार्फत भ्रामक र निन्दनीय सामग्री प्रकाशित गरी संस्थाप्रति भ्रम फैलाएको आरोप लगाउँदै बुधबार साइबर ब्युरोमा निवेदन दिएको हो।
पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल मेडिकल काउन्सिलले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराएको छ। काउन्सिलले निमित्त रजिस्ट्रार डा. दिपेन्द्र पाण्डेको चरित्रहत्या गरेको तथा सामाजिक सञ्जालमार्फत भ्रामक भ्रामक र निन्दनीय सामग्री प्रकाशित गरी संस्थाप्रति भ्रम फैलाएको आरोप लगाउँदै बुधबार साइबर ब्युरोमा निवेदन दिएको हो। उपाध्यायले आफ्नो प्रमाणित फेसबुक प्रोफाइलबाट असार १६ गते डा. पाण्डेको तस्बिर प्रयोग गर्दै काउन्सिलका पदाधिकारीविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप छ। काउन्सिलले उक्त पोस्टमार्फत गालीगलौज, चरित्रहत्या तथा साइबर बुलिङ गरिएको दाबी गरेको छ।नेपाल मेडिकल काउन्सिलका अनुसार काउन्सिलमा दर्ता नभएका व्यक्तिले एलोप्याथिक औषधि लेखेको तथा विशेषज्ञ चिकित्सकले मात्र गर्न पाउने सेवा सञ्चालन गरेको भन्ने उजुरीपछि कानुनी प्रक्रिया अघि बढाइएको थियो। सोही नियामकीय कार्यलाई पूर्वसचिव उपाध्यायले व्यक्तिगत रिसइबीको रूपमा चित्रण गरेको काउन्सिलको भनाइ छ।
काउन्सिलले उपाध्यायको कार्य विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ विपरीत भएको दाबी गर्दै सामाजिक सञ्जालमार्फत संस्थाप्रति भ्रम, घृणा र द्वेष फैलाएको आरोप लगाएको छ। साथै आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्युरोसँग अनुरोध गरिएको छ।उजुरीसँगै काउन्सिलले सम्बन्धित फेसबुक पोस्टका स्क्रिनसट तथा अन्य सामग्री प्रमाणका रूपमा प्रहरीलाई बुझाएको जनाएको छ।यद्यपि, भीमप्रसाद उपाध्यायले यस उजुरीबारे सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गरेका छन् वा छैनन् भन्ने जानकारी हालसम्म प्राप्त भएको छैन। आरोपहरू अदालत वा अनुसन्धानबाट पुष्टि भइसकेका छैनन्।
