पक्राउपछि बिष्णु पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा प्रारम्भिक सोधपुछपछि रात्रिबस मार्फत काठमाडौं ल्याउने तयारी
सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको संयुक्त टोलीले सोमबार सुर्खेतस्थित एक होटलबाट पौडेललाई नियन्त्रणमा लिएको थियो। उनी एमालेको चुनावी समीक्षा तथा पार्टी पुनर्गठन अभियानका कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका थिए।स्रोतका अनुसार पक्राउपछि पौडेललाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ। प्रारम्भिक सोधपुछपछि उनलाई सोमबार राति नै रात्रिबसमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।
अनुसन्धानमा संलग्न निकायहरूले पौडेलको सेयर कारोबार, सम्पत्तिको स्रोत र आर्थिक गतिविधिसम्बन्धी विषयहरूमा छानबिन गरिरहेको जनाइएको छ। यद्यपि, अनुसन्धान जारी रहेकाले आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।पौडेल नेपाली राजनीतिका प्रभावशाली नेतामध्ये एक मानिन्छन्। उनी पूर्वअर्थमन्त्री, पूर्वउपप्रधानमन्त्री तथा एमालेका शीर्ष नेतृत्वमध्येका नेता हुन्। उनको पक्राउसँगै राजनीतिक वृत्तमा व्यापक चर्चा र चासो बढेको छ।सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको निष्कर्ष र अदालतको प्रक्रियापछि मात्र आरोपहरूको वास्तविकता स्पष्ट हुने कानुनी जानकारहरू बताउँछन्।
