राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित सम्पुर्ण तयारि पूरा

Spread the love

बिना प्रजा

चर्को गर्मी र ठूलो जनसहभागितालाई ध्यानमा राख्दै आयोजक तथा सम्बन्धित निकायहरूले स्वास्थ्य सुरक्षा र सञ्चार व्यवस्थापनलाई प्राथमिकतामा राखेका हुन्।महाधिवेशन मूल आयोजक समितिको स्वास्थ्य उपसमितिका संयोजक डा. मनोहर प्रधानका अनुसार उद्घाटन सत्रका क्रममा तीन वटा सुविधासम्पन्न एम्बुलेन्स तयारी अवस्थामा राखिनेछन्। साथै चिकित्सक, नर्स तथा पारामेडिक्ससहितको स्वास्थ्य टोली परिचालन गरिनेछ।

उद्घाटन स्थलमा तीन वटा स्वास्थ्य डेस्क स्थापना गरिने भएको छ। तीमध्ये एउटा अतिथि दीर्घातर्फ र दुई वटा दर्शक दीर्घातर्फ रहनेछन्। आकस्मिक स्वास्थ्य समस्या देखिएमा तत्काल उपचार उपलब्ध गराइने तथा थप उपचार आवश्यक परे जिल्लाका प्रमुख अस्पतालमा पठाउने व्यवस्था मिलाइएको डा. प्रधानले जानकारी दिए।

महाधिवेशन अवधिभर स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको रोहवरमा अस्पताल सञ्चालक तथा सुरक्षा निकायका प्रतिनिधि सम्मिलित समन्वय समिति पनि गठन गरिएको छ।चितवनमा हाल अत्यधिक गर्मी रहेकाले हिमाली तथा पहाडी जिल्लाबाट आउने प्रतिनिधिहरू हिटस्ट्रोकको जोखिममा पर्न सक्ने भन्दै आयोजकले विशेष सतर्कता अपनाएको जनाएको छ। सहभागीलाई खानपानमा सावधानी अपनाउन र स्वास्थ्यसम्बन्धी समस्या देखिए तत्काल स्वास्थ्यकर्मीको सम्पर्कमा आउन आग्रह गरिएको छ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आइतबारदेखि सुरु हुँदै छ। उद्घाटन सत्र भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजना हुनेछ भने बन्दसत्र चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ। महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ।यसैबीच, ठूलो जनचापका कारण दूरसञ्चार सेवामा समस्या नआओस् भनेर नेपाल टेलिकमले पनि विशेष तयारी गरेको छ। नेपाल टेलिकम दूरसञ्चार कार्यालय भरतपुरका निमित्त प्रमुख चन्दनकुमार झाका अनुसार मुख्य टावर तथा आसपासका टावरहरूमा अतिरिक्त उपकरण र विशेष एन्टेना जडान गरी नेटवर्क क्षमता विस्तार गरिएको छ।

भीडभाडका समयमा फोन सम्पर्कमा समस्या आउने, कल ड्रप हुने तथा इन्टरनेट सेवा प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै अतिरिक्त प्रविधि जडान गरिएको उनले बताए। उनका अनुसार महाधिवेशन अवधिभर सेवाग्राहीले सहज रूपमा दूरसञ्चार सेवा प्रयोग गर्न सकून् भन्ने उद्देश्यले सम्पूर्ण पूर्वतयारी पूरा गरिएको छ।स्वास्थ्य सुरक्षा र सञ्चार व्यवस्थापनमा गरिएको यो विशेष तयारीले रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।