लेबनानका दक्षिणी क्षेत्रमा भएको एक शक्तिशाली आक्रमणमा ४ सैनिकको मृत्यु
तीन महिनादेखि जारी युद्धका क्रममा इजरायली सेनाले भोगेको यो सबैभन्दा घातक घटनामध्ये एक मानिएको छ। सैनिकहरू मेरकावा ट्याङ्कमा सवार भई कफर तेबनित क्षेत्र नजिक परिचालनमा रहेका बेला आक्रमण भएको थियो। प्रारम्भिक विवरणअनुसार हिज्बुल्लाहले विस्फोटक उपकरण प्रयोग गरी ट्याङ्कलाई निशाना बनाएको बताइएको छ।घटनामा ट्याङ्कभित्र रहेका चारै सैनिकको मृत्यु भएको छ। इजरायली सेनाले मृतकमध्ये एकलाई लेफ्टिनेन्ट कर्नेल डोर गेधालिया बेन शिमोन को रूपमा पहिचान गरेको छ भने अन्य तीन सैनिकको नाम सार्वजनिक गरिएको छैन।
आईडीएफले घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ। ट्याङ्कभित्र विस्फोटक बोकेको ड्रोन प्रवेश गरेको थियो वा एन्टी–ट्याङ्क मिसाइल प्रहार गरिएको थियो भन्ने विषयमा छानबिन भइरहेको छ।घटनापछि इजरायलले दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा व्यापक हवाई आक्रमण सुरु गरेको छ। लेबनानी स्वास्थ्य अधिकारीहरूका अनुसार ती आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ।
यता हिज्बुल्लाहले भने इजरायली सैनिकहरूलाई लक्षित गरी योजनाबद्ध सैन्य कारबाही गरिएको दाबी गरेको छ। समूहका अनुसार उनीहरूले तीन वटा मेरकावा ट्याङ्कमाथि निर्देशित मिसाइल प्रहार गरेका थिए।यो घटना Donald Trump ले Iran सँग युद्धविरामसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको भोलिपल्ट भएको हो। उक्त सम्झौतामा इरानले लेबनानमा जारी इजरायली सैन्य कारबाही अन्त्य गर्न माग गरेको बताइएको छ।यस घटनाले मध्यपूर्वमा तनाव फेरि चर्किने संकेत देखिएको छ भने क्षेत्रीय सुरक्षाबारे अन्तर्राष्ट्रिय समुदायको चासो समेत बढेको छ।
