मुख्य प्रशिक्षक साबरी लामौचीलाई पदबाट हटाई प्रशिक्षक हर्भ रेनार्डलाई नियुक्त्ति

Spread the love

पहिलो खेलमै भारी पराजय भोगेपछि ट्युनिसियाली राष्ट्रिय फुटबल टिमले मुख्य प्रशिक्षक साबरी लामौचीलाई पदबाट हटाएको छ।मेक्सिकोको एस्टाडियो मोन्टेरेमा आइतबार सम्पन्न समूह ‘एफ’ को खेलमा ट्युनिसिया स्विडेनसँग ५–१ को फराकिलो अन्तरले पराजित भएको थियो। उक्त हारपछि लामौचीलाई हटाइएको चर्चा चले पनि उनले सोमबारसम्म टोलीको प्रशिक्षण जारी राखेका थिए। तर ट्युनिसिया फुटबल महासंघले अन्ततः आपसी सहमतिमा सम्झौता अन्त्य गरिएको औपचारिक घोषणा गरेको हो।महासंघले लामौचीको स्थानमा अनुभवी प्रशिक्षक हर्भ रेनार्डलाई नियुक्त गरेको छ। मोरक्को र साउदी अरबको राष्ट्रिय टिम सम्हालिसकेका रेनार्डले प्रतियोगिता अन्त्यसम्म टिमको जिम्मेवारी सम्हाल्नेछन्।

यो निर्णयसँगै विश्वकप इतिहासमा पहिलो खेलपछि नै कुनै प्रशिक्षक हटाइएको पहिलो घटना भएको छ। यसअघि सन् १९९८ को विश्वकपमा ट्युनिसियाले नै दुई खेलपछि प्रशिक्षक हेनरी कास्परजाकलाई हटाएको थियो भने दक्षिण कोरियाले पनि त्यस्तै निर्णय दुई खेलपछि गरेको इतिहास छ।लामौचीको पाँच महिनाको कार्यकाल अत्यन्तै कमजोर रह्यो। उनको नेतृत्वमा ट्युनिसियाले खेलेका पाँच खेलमध्ये केवल एक मात्र जित दर्ता गरेको थियो, त्यो पनि हाइटीविरुद्ध १–० को नतिजा हो। विश्वकपअघि भएको मैत्रीपूर्ण खेलमा ट्युनिसिया बेल्जियमसँग ५–० ले पराजित भएको थियो।हारपछि प्रतिक्रिया दिँदै लामौचीले भनेका थिए, “यति ठूलो हारबाट प्रतियोगिता सुरु गर्नु निकै पीडादायी भयो। हामीले धेरै गल्ती गर्‍यौँ, जसको असर हामी आफैंले भोग्नुपर्‍यो।”