तीन वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ता लाई बचत रकम फिर्ता ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकि सबैले फिर्ता पाउलान् त?
सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार तीन वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको जनाएको छ ।समितिका अनुसार कान्तिपुर सहकारी का २ सय १५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारी का १ सय ५६ जना र पशुपति सहकारी का ७ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् ।
पहिलो चरणमा थोरै रकम बचत गरेका साना बचतकर्तालाई प्राथमिकतामा राखिएको समितिले जनाएको छ । आगामी दिनमा बचत रकमका आधारमा वर्गीकरण गर्दै क्रमशः रकम फिर्ता गरिने बताइएको छ । समितिका अनुसार समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ । पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई साना बचतकर्ता र सोभन्दा बढी रकम बचत गर्नेहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल ले बचत फिर्ता प्रक्रियासँगै सहकारीहरूको ऋण असुली कार्य पनि तीव्र बनाइएको बताएकी छन् ।
