व्यवस्थापन र पुनर्वासको योजना बिना गरिबमाथि बल प्रयोग नगर्नु- हर्क साम्पाङ्ग

Spread the love

सबिना प्रजा

“प्रधानमन्त्री देश हाँकिरहेका होइनन्, दुर्घटनातिर धकेलिरहेका छन्” , हर्क साम्पाङ ले वालेन साहले नेतृत्वको सरकारमाथि तीव्र आक्रमण गर्दै देशलाई “दुर्घटनातिर धकेल्ने शैलीमा” चलाइएको आरोप लगाएका छन्।

सरकार बनेको डेढ महिना नपुग्दै जनतामा निराशा, आन्दोलन र आक्रोश फैलिएको भन्दै साम्पाङले सरकार पूर्ण रूपमा असफल दिशातर्फ गएको दाबी गरेका हुन्।

साम्पाङले विशेष गरी सुकुमवासी बस्तीमा चलाइएको डोजर अभियानलाई “राज्य आतंक” को संज्ञा दिएका छन्। व्यवस्थापन र पुनर्वासको योजना बिना गरिबमाथि बल प्रयोग गरिएको भन्दै उनले सरकारलाई “दादागिरी शैली” मा उत्रिएको आरोप लगाए।

उनले भने, “पहिला योजना बनाउनुपर्थ्यो, अनि मात्रै एक्सन लिनुपर्थ्यो। तर सरकारले पहिला डोजर चलायो, पछि योजना खोज्न थाल्यो। अहिले जनता पुलमुनि र खुला आकाशमुनि रोइरहेका छन्।”

सरकारले संसद् छल्दै अध्यादेश ल्याएको, बजेटलाई केही व्यक्तिको नियन्त्रणमा राख्न खोजेको र विदेशी ऋणबारे पारदर्शिता नदेखाएको आरोप पनि उनले लगाए। साम्पाङका अनुसार संसद्‌लाई बाइपास गर्नु नै “नीतिगत भ्रष्टाचार” हो।

उनले सरकारमाथि महँगी नियन्त्रण गर्न नसकेको, कर्मचारी संयन्त्रलाई आतंकित बनाएको र विपक्षीको आवाज बेवास्ता गरेको आरोप लगाउँदै चेतावनी दिए, “नैतिकता गुमाएको सरकार धेरै टिक्दैन। अन्ततः सरकार नाङ्गिन्छ।”

साम्पाङले विपक्षी दलहरू अब सडक र सदन दुवैतिरबाट संयुक्त रूपमा सरकारविरुद्ध उत्रिने संकेत समेत दिएका छन्। उनले सरकार “ट्र्याक बाहिर गएको” दाबी गर्दै त्यसलाई नियन्त्रण गर्नु विपक्षीको जिम्मेवारी भएको बताएका छन्।