आइन्द्रविक्रम बेघा ले आफू नेतृत्वमा रहँदासम्म धरानमा डोजर नचल्ने स्पष्ट घोषणा
देशभर सुकुम्बासी बस्ती हटाउने अभियान अघि बढिरहेका बेला धरान उपमहानगरपालिकाले फरक धारणा सार्वजनिक गरेको छ। कार्यवाहक मेयर आइन्द्रविक्रम बेघा ले आफू नेतृत्वमा रहँदासम्म धरानमा डोजर नचल्ने स्पष्ट घोषणा गरेका छन्।
नेपाल बसोबास बस्ती संरक्षण समाजबाट ज्ञापनपत्र बुझ्दै उनले नगरभित्र सुकुम्बासी बस्ती हटाउने कार्य नगर्ने अडान व्यक्त गरे। “म कार्यवाहक प्रमुख रहँदासम्म यहाँ डोजर चल्न दिने छैन,” उनले भने।
बेघाले सुकुम्बासी समस्या केवल राजनीतिक विषय नभई मानवीय र कानुनी दृष्टिले समाधान गर्नुपर्ने जटिल मुद्दा भएको बताए। उनले संघीय सरकारको नीतिप्रति प्रत्यक्ष टिप्पणी नगरे पनि आफ्नो क्षेत्राधिकारभित्रका निर्णय आफूले नै गर्ने स्पष्ट पारे।
उनका अनुसार गृह प्रशासन र नेपाल प्रहरीबाट बस्ती हटाउने सम्बन्धी पत्र प्राप्त भए पनि आफूले त्यसलाई कार्यान्वयन नगर्ने बताएका छन्। धरानमा करिब १५ हजारभन्दा बढी सुकुम्बासी रहेको उल्लेख गर्दै उनले तत्काल डोजर प्रयोग गर्नु समाधान नभएको धारणा राखे।
यसबीच, सुकुम्बासी अगुवाहरूले काठमाडौंमा भएका घटनापछि आफूहरू चिन्तित रहेको बताएका छन्। तर धरानमा यस्तो कदम नचल्ने आश्वासन पाउँदा राहत महसुस भएको उनीहरूको भनाइ छ।
कार्यवाहक मेयर बेघाले सुकुम्बासीहरूलाई संयमित रहन आग्रह गर्दै उपमहानगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरेका छन्।
