नेपाली कांग्रेस एमाले नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले गरेकाे अध्यादेश जारी नगर्न राष्ट्रपति समक्ष आग्रह -राष्ट्रपतिले के गर्लान् त ?

Spread the love

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले संसदको अधिवेशन स्थगित गरी अध्यादेश ल्याउनु असंसदीय र अलोकतान्त्रिक कदम भएको निष्कर्ष निकाल्दै ती अध्यादेश तुरुन्त फिर्ता गर्न सरकारसँग माग गरेको हो।

बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, एमालेका दल नेता रामबहादुर थापा, नेकपाका प्रमुख सचेतक युवराज दुलाल तथा राप्रपा सांसद सरस्वती लामा सहभागी थिए।चार दलद्वारा जारी विज्ञप्तिमा सरकारले वैशाख १४ र १५ गते संवैधानिक परिषद, सहकारी ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय तथा केही नेपाल कानून संशोधनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको उल्लेख गर्दै यस कदमको घोर विरोध, भर्त्सना र निन्दा गरिएको छ।विपक्षी दलहरूले संसद अधिवेशन आह्वान गरेर तत्काल स्थगित गरी अध्यादेश ल्याउनु लोकतान्त्रिक अभ्यासविपरीत भएको बताएका छन्। उनीहरूले संसद छलेर सिफारिस गरिएका ती अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिसँग हार्दिक अनुरोध गरेका छन्।

साथै, विपक्षी दलहरूले स्थगित गरिएको संघीय संसदको अधिवेशन तत्काल पुनः आह्वान गर्न पनि सरकारसँग माग गरेका छन्। उनीहरूको भनाइमा विधेयकमार्फत संसदमा छलफल गरेर कानून बनाउनु नै लोकतान्त्रिक र पारदर्शी प्रक्रिया हो।यस घटनासँगै अध्यादेश प्रकरणलाई लिएर राजनीतिक विवाद थप चर्किएको छ र सरकारमाथि संसद बाइपास गरेको आरोप झन् तीव्र बन्दै गएको छ।