प्रभावशाली नेताहरूले केपि ओलीलाई हटाउने तीन ठूला विकल्प स्वेच्छिक राजीनामा, केन्द्रीय समितिको दबाब – के हटाउन सक्ला त ?
नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रै अध्यक्ष केपी शर्मा ओली विरुद्धको असन्तोष विस्फोटक रूपमा बाहिरिन थालेको छ। दोस्रो तहका प्रभावशाली नेताहरूले ओलीलाई हटाउने तीन ठूला विकल्प—स्वेच्छिक राजीनामा, केन्द्रीय समितिको दबाब, वा विशेष महाधिवेशन—माथि गम्भीर छलफल थालेका छन्।
उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल लगायत नेताहरू ओलीको ‘सम्मानजनक बहिर्गमन’ चाहन्छन्। तर, यदि उनले पद नछोडे विशेष महाधिवेशनसम्म जाने तयारी भइसकेको स्रोत बताउँछन्।
लगातार कमजोर चुनावी प्रदर्शनले एमाले संकटमा धकेलिँदै गएको निष्कर्षसहित नेताहरू एकजुट हुन थालेका छन्। “अब ओलीकै नेतृत्वमा पार्टी बाँच्दैन,” भन्ने धारणा बलियो बन्दै गएको छ।
नेताहरूले सचिवालयदेखि स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म ओलीलाई राजीनामा दिन औपचारिक प्रस्ताव लैजाने रणनीति बनाएका छन्। बहुमत केन्द्रीय कमिटीले ‘छोड्नुस्’ भने ओली बाध्य हुने उनीहरूको विश्वास छ।
तर ओली भने पछि हट्ने मुडमा छैनन्। आफू निर्वाचित नेतृत्व भएको भन्दै उनले सबै चुनौती सामना गर्ने स्पष्ट संकेत दिएका छन्।
सचिवालयका बहुमत पदाधिकारी ओलीविरुद्ध उभिएका छन्। विशेष महाधिवेशनसम्म जाने तयारीले एमालेभित्र गहिरो विभाजनको संकेत देखिएको छ।
अध्यक्ष बिरामी भएकाले बैठक बस्न ढिलाइ भए पनि नेताहरू निर्णायक भिडन्तको प्रतीक्षामा छन्। अबको केन्द्रीय कमिटी बैठकले एमालेको भविष्य मात्र होइन, ओलीको राजनीतिक यात्रा नै मोड्न सक्ने देखिन्छ।
