भ्रष्टाचार र अनियमितताका फाइल खोल्न नयाँ बन्ने सरकारसमक्ष माग
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले २०४६ सालयताका सबै भ्रष्टाचार र अनियमितताका फाइल खोल्न नयाँ बन्ने सरकारसमक्ष माग गरेका छन् । मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले शक्तिशाली छानबिन आयोग गठन गरेर विगतका सबै काण्डहरूको निष्पक्ष अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।थापाले सार्वजनिक पदमा बसेर शासकीय शक्तिको दुरुपयोग गरी अकुत सम्पत्ति कमाउनेहरूमाथि तत्काल कारबाही गर्नुपर्नेमा जोड दिए । ‘गिरिबन्धु, ललिता निवास, वाइडबडी वा भदौ २४ का घटनाजस्ता सबै विषयमा कानुनसम्मत छानबिन हुनुपर्छ,’ उनले भने । दोषी प्रमाणित भए जुनसुकै तहका नेता वा अधिकारी भए पनि अवैध सम्पत्ति राज्यले जफत गर्नुपर्ने उनको धारणा छ ।
उनले दण्डहीनताको अन्त्य नगरेसम्म समाज भ्रष्टाचारमुक्त नहुने उल्लेख गर्दै कांग्रेसले दोषीलाई जोगाउने खेलमा नलाग्ने स्पष्ट पारे । प्रतिपक्षको भूमिकामा रहँदै सुशासनको मुद्दालाई प्राथमिकता दिने र सरकारले भ्रष्टाचारका फाइल खोल्न ढिलाइ गरे संसदबाटै कडा प्रतिरोध गर्ने चेतावनी समेत उनले दिएका छन् ।
