सिंहदरबार जलाउने सलाई कसको हातमा – रक्षा बम
जेन–जी अगुवा रक्षा बमले जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिकका लागि सरकारमाथि दबाब बढाएकी छन् ।सडकमा आफैँ प्रश्नहरूबाट घेरिन थालेपछि रक्षाले सामाजिक सञ्जालमा आक्रमक रूपमा प्रस्तुत हुँदै प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन सार्वजनिक गरेर वास्तविकता बाहिर ल्याउन आग्रह गरेकी छन् ।‘आज हामीले दुर्व्यवहार भोग्नुपरेको छ । जीवनभरि गलत आरोपहरूको बोझ बोक्नुपर्ने अवस्था सिर्जना हुँदै छ । किनकि, पीडितहरूको आवाज चर्को हुन्छ, प्रधानमन्त्रीज्यू । त्यसलाई बेलैमा सम्बोधन गरिनुपर्छ’, रक्षाले लेखेकी छन्, ‘यी प्रश्नहरू र यस्तो व्यवहार आज सडकमा प्रत्यक्ष रूपमा देखिएको पहिलो दिन हुन सक्छ, तर सामाजिक सञ्जालमा, विशेषतः फेसबुकका इनबक्स र कमेन्टहरूमा, म यसलाई सुरुदेखि नै भोग्दै आइरहेकी छु । यो त मेरो दैनिकीजस्तै भइसकेको छ । ममाथि लगाइएका आरोपहरू, सोधिएका प्रश्नहरू र गरिएको व्यवहारको जवाफ मैले बारम्बार दिइसकेकी छु, तर अब त्यतिले मात्रै पुगेन, प्रधानमन्त्रीज्यू । अब हामीमाथि लागेका यस्ता आरोप र प्रश्नहरूको जवाफ तपाईंले प्रतिवेदन सार्वजनिक गरेर दिनैपर्छ ।’
उनले अगाडि लेखेकी छन्, ‘प्रधानमन्त्रीज्यू, मेरो हातमा रगत लागेको छ कि छैन, म त्यो जान्न चाहन्छु । मैले सिंहदरबार जलाएको हो कि होइन, म त्यो जान्न चाहन्छु । म कतैबाट परिचालित छु कि छैन, यी सबै प्रश्नहरूको उत्तर म पनि जान्न चाहन्छु । र, म यो पनि जान्न चाहन्छु कि हाम्रो शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक कसरी भयो ? गोली चलाउने आदेश कसले दियो ? र सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ? त्यसैले, कृपया प्रतिवेदन सार्वजनिक गरिदिनुहोस् । त्यो तपाईको जिम्मेवारी हो ।
न्याय पर्खिरहेका आँखाहरू प्रधानमन्त्री कार्कीतिरै फर्किएको उनको भनाइ छ ।
