युक्रेनलाई रूसविरुद्धको खुफिया सूचना दिन बन्द गरे आफूले पनि इरानलाई त्यस्तो सूचना उपलब्ध गराउन रोक्ने

Spread the love

रूसले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै यदि अमेरिकाले युक्रेनलाई रूसविरुद्धको खुफिया सूचना दिन बन्द गरे आफूले पनि इरानलाई त्यस्तो सूचना उपलब्ध गराउन रोक्ने संकेत दिएको छ । तर उक्त प्रस्ताव अमेरिकाले अस्वीकार गरेको जनाइएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जेरेड कुश्नरसँग अमेरिकाको मायामीमा भएको भेटमा रुसी दूत किरिल दिमित्रिएभले यस्तो प्रस्ताव अघि सारेका थिए ।अमेरिकी अनलाइन मिडिया ‘पोलिटिको’का अनुसार उक्त प्रस्तावलाई अमेरिकाले अस्वीकार गरेको छ । यद्यपि यस विषयले युरोपेली देशहरूमा भने चिन्ता बढाएको छ । विश्लेषकहरूका अनुसार रूसले अमेरिका र युरोपबीच फाटो ल्याउने प्रयास गरिरहेको हुनसक्छ ।यसैबीच, अमेरिका र इजरायलसँग जारी तनावबीच इरानले रूससँगको रणनीतिक सहकार्य स्वीकार गरेको छ । इरानी विदेशमन्त्री अब्बास अरागचीले युद्धका बेला रूस इरानको महत्वपूर्ण साझेदार भएको बताएका छन् ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इरानले पछिल्ला आक्रमणहरूमा अमेरिकी सैन्य संरचनासम्बन्धी सटिक जानकारी प्रयोग गरिरहेको देखिएको छ । यसले रूसबाट इरानलाई खुफिया सूचना प्राप्त भइरहेको हुनसक्ने अनुमानलाई बल दिएको छ ।यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले पनि रूसले इरानलाई केही सहयोग गरिरहेको हुन सक्ने सार्वजनिक रूपमा बताएका थिए । उनले अमेरिकाले युक्रेनलाई जस्तै रूसले पनि इरानलाई सीमित सहयोग गरिरहेको हुनसक्ने अनुमान व्यक्त गरेका थिए ।रूसको प्रस्तावले विश्व राजनीतिमा खुफिया सूचना नै प्रमुख रणनीतिक हतियार बन्दै गएको संकेत दिएको छ । अमेरिका–रूस–इरान त्रिकोणीय सम्बन्धमा बढ्दो तनावले अन्तर्राष्ट्रिय सुरक्षामा थप चुनौती सिर्जना गर्ने देखिएको छ ।