प्रहरीले गोली चलाउँदा कम्तीमा पाँच जना घाईते
कपिलवस्तु — दुई समुदायबीच उत्पन्न विवादपछि तनावग्रस्त बनेको महाराजगञ्ज नगरपालिका क्षेत्रमा लगाइएको निषेधाज्ञाकै बीच प्रहरीले गोली चलाउँदा कम्तीमा पाँच जना घाइते भएका छन्।शनिबार दिउँसो २ बजेदेखि प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा लागू गरे पनि प्रदर्शन जारी रहेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाएको हो।महाराजगञ्ज–६ को जिगनाहा चौराहमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा गोली चलेको बताइएको छ। प्रदर्शनकारीका अनुसार प्रहरीको गोली लागेर पाँच जना घाइते भएका छन्।
घाइते हुनेहरूमा २२ वर्षीय जितेन्द्र यादव (अरुण), प्रदीप पासी र मोनु पासीलगायत रहेका छन्। उनीहरूलाई प्रारम्भिक उपचारपछि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा थप उपचारका लागि पठाइएको छ। अन्य घाइते महेन्द्र यादव र कासी रैदासको बहादुरगञ्ज अस्पतालमा उपचार भइरहेको छ।यता, निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले भने सुरक्षाकर्मीले चलाएको हवाई फायरबाट तीन जनामात्र घाइते भएको बताएका छन्। उनका अनुसार झडपका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी कुल २१ जना घाइते भएका छन्।
