नेपाली कम्युनिस्ट पार्टी अपेक्षाभन्दा प्रतिस्पर्धामै कमजोर
२२ वटा पार्टी र समूहहरू मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो पहिलो प्रतिनिधिसभा निर्वाचनमै अपेक्षाभन्दा कमजोर प्रदर्शन गर्दै ठूलो हार व्यहोरेको छ। प्रतिनिधिसभाको १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमा भएको चुनावमा नेकपा धेरै स्थानमा प्रतिस्पर्धामै कमजोर देखिएको छ।पछिल्लो मतपरिणामअनुसार सात प्रदेशमध्ये चार प्रदेशमा नेकपा शून्य भएको छ। विशेषगरी कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा नेकपाले एक सिट पनि जित्न सकेन। अघिल्लो निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले तीन क्षेत्रमा प्रत्यक्ष जित हासिल गरेको भए पनि यसपटक भने ती क्षेत्रहरू समेत जोगाउन सकेन।कोशी प्रदेशको मोरङ–४ मा अघिल्लो चुनावमा विजयी भएका अमनलाल मोदी यसपटक तेस्रो स्थानमा सीमित भए। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सन्तोष राजवंशी ४० हजार ८ सय ३३ मतसहित विजयी भए। कांग्रेसका गुरुराज घिमिरे दोस्रो स्थानमा रहँदा मोदी तेस्रो स्थानमा पुगे।त्यस्तै भोजपुर र खोटाङ जस्ता अघिल्लो निर्वाचनमा प्रभाव रहेको क्षेत्रहरूमा पनि नेकपाले जित निकाल्न सकेन। भोजपुरमा यसअघि विजयी भएका सुदन किराँती यसपटक उम्मेदवार बनेनन् भने खोटाङमा नेकपाका उम्मेदवार हरि रोका चौथो स्थानमा सीमित भएका छन्।
मधेश प्रदेशमा पनि नेकपाका शीर्ष नेताहरू पराजित भएका छन्। सर्लाही–३ बाट चुनाव लडेका पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पराजित भए। उनले उम्मेदवारी दर्ता गर्नुअघि टिकट विवादका बीच प्रत्यक्ष चुनाव लड्ने निर्णय गरेका थिए। तर अन्ततः उनी नरेन्द्र साह कलवारसँग पराजित भए।त्यसैगरी माधवकुमार नेपाल रौतहट–१ बाट, महिन्द्र राय यादव सर्लाही–२ बाट तथा गिरिराजमणि पोखरेल महोत्तरी–१ बाट पराजित भएका छन्। धनुषा–२ मा रामचन्द्र झा चौथो स्थानमा सीमित भए भने सिरहा–४ मा अजयशंकर नायक पनि पराजित भएका छन्।गण्डकी प्रदेशमा पनि नेकपा कमजोर देखिएको छ। अघिल्लो निर्वाचनमा गोरखा–२ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाग्लुङ–२ बाट देवेन्द्र पौडेल विजयी भएका थिए। तर यसपटक मतगणना भइरहेका क्षेत्रहरूमा समेत नेकपा उम्मेदवार तेस्रो स्थानमा देखिएका छन्।त्यस्तै सुदूरपश्चिम प्रदेशमा पनि नेकपाले अपेक्षित नतिजा ल्याउन सकेन। अघिल्लो निर्वाचनमा गठबन्धनमार्फत तीन सिट जितेको नेकपाले यसपटक एक सिट पनि जित्न सकेन। पार्टीले सुदूरपश्चिममा ६ देखि ८ सिट जित्ने अनुमान गरेको भए पनि त्यो सम्भावना पूरा हुन सकेन।यसपटक प्रभावशाली नेता भीम रावल समेत नेकपामा समाहित भएका थिए। सुदूरपश्चिममा उनको प्रभाव रहने अनुमान गरिए पनि त्यसले चुनावी परिणाममा खासै प्रभाव पार्न सकेन।पहिलो पटक २२ पार्टीबीच एकता गरेर चुनावी मैदानमा उत्रिएको नेकपाले अपेक्षा अनुसार नतिजा निकाल्न नसक्दा पार्टीभित्र रणनीति र संगठनबारे गम्भीर समीक्षा आवश्यक भएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।
