अपराधमा संलग्न व्यक्तिहरूको सम्पत्ति तत्काल जफत गर्नुपर्ने- रामेस्वर खनाल
अर्थमन्त्री रामेश्वर खनालले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अपराधमा संलग्न व्यक्तिहरूको सम्पत्ति तत्काल जफत गर्नुपर्ने बताएका छन्। सम्पत्ति शुद्धिकरण विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अन्तर्राष्ट्रिय संस्था एफएटिएफ (FATF) र एपीजी (APG) ले नेपालको प्रगतिप्रति चासो व्यक्त गरिरहेको बताए।उनका अनुसार मनी लाउन्डरिङविरुद्ध नेपालले गरेको प्रगति अझै कमजोर रहेकाले ‘ग्रे–लिस्ट’बाट बाहिर निस्कन कठिन अवस्था छ। एफएटिएफ र एपीजीले अनुसन्धान, छानबिन र मुद्दा दायर गर्ने निकायहरूबाट ठोस प्रमाण माग गरे पनि हालसम्म पर्याप्त प्रमाण पेश हुन नसकेको खनालले उल्लेख गरे।सम्पत्ति शुद्धीकरण अपराधमा संलग्नको सम्पत्ति जफत गरेको प्रमाण अन्तर्राष्ट्रिय समुदायसमक्ष पेश गर्न सके नेपाल छिट्टै ग्रे–लिस्टबाट बाहिरिन सक्ने उनले विश्वास व्यक्त गरे।
