गरिबलाई आत्मनिर्भर बनाउन आयमूलक तथा सीपमूलक तालिम प्रदान गर्ने-मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ

Spread the love

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आम नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी प्रदेश सरकारले काम गरिरहेको बताउनुभएको छ। सोमबार मनहरी गाउँपालिका–४ स्थित पशुपतिनाथ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समापन कार्यक्रममा बोल्दै उहाँले गरिबलाई आत्मनिर्भर बनाउन आयमूलक तथा सीपमूलक कार्यक्रममार्फत बिना ब्याज ऋण उपलब्ध गराउने तयारी भइरहेको बताउनुभयो ।मुख्यमन्त्री बानियाँका अनुसार प्रदेश सरकारले विपन्न नागरिकलाई दुई लाख रुपैयाँसम्मको बिना ब्याज ऋण उपलब्ध गराउन कार्यविधि तयार पारेको छ। उहाँले भन्नुभयो , “मुख्यमन्त्री भएका दिनदेखि नै गरिबमुखी, न्यायमुखी, गाउँमुखी, आयमुखी, विकासमुखी र जनमुखी काम गर्ने सपथ लिएको हुँ, त्यसैअनुसार काम भइरहेको छ।”उहाँले प्रदेश सरकारमार्फत एक हजार विपन्न परिवारका लागि घर निर्माणको पहल भइरहेको जानकारी पनि दिनुभयो । सुशासन, पारदर्शिता र जिम्मेवार शासन निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउँदै बानियाँले भ्रष्टाचारमुक्त बागमती प्रदेश बनाउन अभियान सञ्चालन गरिने उल्लेख गर्नुभयो ।गणतान्त्रिक व्यवस्था गरिब, विपन्न तथा पछाडि परेका वर्गको हितमा केन्द्रित रहेको भन्दै उहाँले हालका केही समूहले व्यवस्था विरुद्ध भ्रम फैलाउने प्रयास गरेको आरोप लगाउनुभयो, “गणतन्त्रपछि मात्र गाउँ–गाउँमा सडक, पुल तथा सेवा–सुविधाहरू विस्तार भएका छन्। जनताले व्यवस्था होइन, अवस्था परिवर्तन चाहेका हुन्,” बानियाँले भन्नुभयो ।कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव गौतमको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर, वडा नं. ४ का अध्यक्ष प्रकाश थापा लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए। मंसिर ८ देखि सुरु भएको स्वर्ण महोत्सवअन्तर्गत विभिन्न खेलकुद तथा शैक्षिक गतिविधिहरू सञ्चालन गरिएका थिए ।