बारामा बुधबार भएको झडपछि केन्द्रीय सुरक्षा समितिको बैठक सुरक्षा अवस्थाबारे समीक्षा

Spread the love

बारामा बुधबार भएको झडपछि केन्द्रीय सुरक्षा समितिको बैठक भएको छ। चारैवटा सुरक्षा निकाय सहभागी रहेको बैठकले घटनापछिको सुरक्षा अवस्थाबारे समीक्षा गरेको छ। बैठकमा चुनौतीको प्रस्तुति, छलफल एवं सोको समीक्षा र विश्लेषणसमेत गरिएको गृहले जनाएको छ। बैठकले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विगतमा सम्पन्न निर्वाचनको अनुभव र सिकाइसमेतको आधारमा मजबुत सुरक्षा व्यवस्था गर्ने निर्णय भएको छ। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२’ तयार  भई चारवटै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूमा पठाई कार्यान्वयन चरणमा रहेको छ। निर्वाचन सुरक्षा योजना, २०८२ मा प्रदेशस्तरमा प्रदेश प्रमुख सचिवको संयोजकत्वमा प्रदेशस्थित सबै सुरक्षा निकायका प्रमुखहरू र आन्तरिक मामिला हेर्ने मन्त्रालयका सचिव सदस्य साथै सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी आमन्त्रित रहने गरी प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेल रहने प्रबन्ध रहेकोले सबै प्रदेशका प्रमुख सचिवलाई सो मुताबिक कमान्ड पोस्ट तथा निर्वाचन सेल गठन गरी निर्वाचन सुरक्षा व्यवस्थापनमा सक्रिय रूपमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्री मन्त्रिपरिषद्को कार्यालयमार्फत लेखी पठाउने निर्णय भएको छ। त्यस्तै, वर्तमान अवस्थालाई मध्यनजर गरी सबै सुरक्षा निकायहरूले आपसी समन्वयमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने पनि निर्णय भएको गृहले जनाएको छ। 
बुधबार बारामा एमाले कार्यकर्ता र जेन-जीबिच झडप भएपछि प्रशासन कर्फ्यु लगाएको थियो। सो घटनापछि सुरक्षा चिन्ता बढेको छ।