धर्ना, जुलुस, प्रदर्शन, आन्दोलन कार्यक्रम नगर्न आग्रह – गृह मन्त्रालय
गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशित गरी धर्ना, जुलुस, विरोध प्रदर्शनलगायत आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । गृह मन्त्रालयले सबैको जायज माग, चासो एवं सरोकारलाई सम्बोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको हुँदा यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलनलगायतका कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनै पनि मागको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध गरेको छ ।विज्ञप्तिमा भनिएको छ, ‘देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति एवं अराजकता निम्त्याउन सक्ने हुँदा त्यसतर्फ आयोजकहरू सचेत हुनुपर्ने देखिन्छ । आफ्ना माग राख्दा जनताको शान्तिपूर्वक बाँच्न पाउने, निर्वाध सार्वजनिक सेवा प्राप्त गर्ने र निर्वाचनमा भाग लिन पाउने समेतका हक अधिकारहरू कुण्ठित हुन नदिन र सार्वजनिक सुरक्षा साथै राष्ट्रिय सुरक्षा खलल हुन नदिई मुलुकमा साम्प्रदायिक सद्भाव कायम राख्दै राष्ट्रिय हितको प्रवर्द्धन गर्ने कार्यमा योगदान गर्न सबैमा अनुरोध छ । सबैको जायज माग, चासो एवं सरोकारलाई सम्वोधन गर्न सरकार सदा तत्पर र गम्भीर रहेको हुँदा यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलन लगायतका कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनैपनि मागको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध छ ।।’
