मुख्यमन्त्री बानियाँले गरे मनहरी ६ मा विद्यालय भवन उद्घाटन

Spread the love


हेटाैँडा- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मनहरी -६ नम्बर वडास्थित रुपाचुरीमा नवनिर्मित विद्यालय भवनकाे उद्घाटन गरेका छन् । विदेशी दातृ निकायकाे सहयाेगमा निर्मित सगरमाथा आधारभूत विद्यालयकाे चार काेठे भवनकाे बुधबार मुख्यमन्त्री बानियाँले उद्घाटन गरेका हुन् ।

अमेरिकी संस्था बिल्डिङ एजुकेशनकाे आर्थिक सहयाेगमा एक अर्थ फाउन्डेशन नेपालले विद्यालय भवन निर्माण गरेकाे हाे । चारकाेठे भवन, शाैचालय, चाैर सम्याउनेलगायत गरि करिब ४० लाख रुपैयाँ लागतमा भवन निर्माण भएकाे संस्थाले जनाएकाे छ । विद्यालय भवन निर्माणपछि मनहरी गाउँपालिकाले डेस्क बेन्चकाेसमेत व्यवस्था गरेकाे छ ।

विद्यालय भवन उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले दातृ निकायले विद्यालय भवन निर्माण गर्न सहयाेग गरेकाेमा आभारी व्यक्त गर्दै आगामी दिनमा पनि सहयाेगकाे लागि अनुराेध गरे । शैक्षिक क्षेत्रकाे विकासका लागि प्रदेश सरकार पनि उत्तिकै गम्भीर रहेकाे भन्दै अन्य आवश्यक पूर्वाधार र शैक्षिक वातावरणा बनाउन बजेट विनियाेजन गरिने बानियाँले प्रतिवद्धता गरे । विद्यालयमा गाउँपालिकामार्फत राखिएका शिक्षक दरबन्दीलाई निरन्तरता दिन अध्यक्ष बानियाँले गाउँपालिका अध्यक्षलाई अनुराेधसमेत गरे । मनहरी आफ्नाे निर्वाचन क्षेत्रसमेत रहेकाले आफूले यस भेगकाे समग्र विकासका लागि बजेट विनियाेजन गर्नेसमेत बानियाँले प्रतिवद्धता जनाए ।
सगरमाथा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरबहादुर मुक्तानकाे अध्यक्षतामा भएकाे कार्यक्रममा  गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, दातृ निकायका प्रतिनिधि बीन्डी स, नाेरमेन, वडा अध्यक्ष युवराज थपलिया, बिद्यालयका प्रधानाध्यापक खड्कबहादुर मुक्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रमकैबीच मनहरी गाउँपालिकामार्फत मनहरी ६ नम्बर वडाका ७ जना विपन्न परिवारलाई काजकिरिया खर्चबापत प्रतिपरिवार २० हजार रुपैयाँ रकम हस्तान्तरणसमेत गरिएकाे थियाे । केही समयअघि चट्याङ लागि मृत्यु भएका विशाल ब्लाेनकाे परिवारलाई गाउँपालिकामार्फत २ लाख खातामा पठाइएकाे छ भने मुख्यमन्त्री बानियाँले व्यक्तिगत रुपमा १० हजार सहयाेग प्रदान गरे । साथै प्रदेश सरकारबाट पनि १ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाए ।